सडक दुर्घटनाबाट बर्सेनि दुई हजारभन्दा बढीको मृत्यु

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौँ, १ जेठ । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा भएको सडक सुरक्षा सप्ताह आजदेखि सकिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत वैशाख २६ देखि सप्ताह सुरु भएको थियो । सडक सुरक्षा सप्ताहको आज समापन कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रकाश अर्यालले तीव्र गतिका कारण दुर्घटना बढी हुन्छ, यसलाई कम गर्न जनचेतनामूलक कार्यक्रम चलाउनु पर्ने बताए ।
रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले तीव्र गतिका कारण धेरैको अकालमा ज्यान गएकाले तत्काल ज्यान जानबाट कमी ल्याउन प्राथमिक उपचारलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने बताए ।
महाशाखाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सप्ताहमा स्वयम्सेवक खटाएर सडक सुरक्षासम्बन्धी जनचेतना फैलाइएको जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यका र ४५ जिल्लाका १२ हजार विद्यार्थीलाई सडक सुरक्षा सप्ताहमा सामेल गराइएको थियो । तीमध्ये २०० विद्यार्थीलाई बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सडकमा जनचेतनाका लागि राखिएको थियो ।
सप्ताहमा काठमाडौँ उपत्यकाका कालीमाटी, कलङ्की, थापाथली, माइतीघर, बानेश्वर, दरबारमार्ग, गाँेङ्गबु, सातदोबाटो, पुल्चोक, ग्वार्को, लगनखेल, सूर्यविनायक, जगाती, सल्लाघारी, ठिमी लगायत स्थान तथा विभिन्न जिल्लाका प्रमुख चोकमा ट्राफिक प्रहरी र नेपाल रेडक्रस सोसाइटीका स्वयम्सेवक खटिएर पर्चा, पम्प्लेट वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको महाशाखाले जनाएको छ ।
सप्ताहभर सडक सुरक्षासम्बन्धी रेडियो कार्यक्रम, कविता वाचन, सडक नाटक, निबन्ध वाचन लगायत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । सप्ताह काठमाडौँ, भक्तपुर, ललितपुर, कैलाली, बाँके, रुपन्देही, कास्की, चितवन, मोरङ, धनुषा, झापा, सप्तरी, पर्सा र मकवानपुर जिल्लामा चलेको थियो । नेपालमा बर्सेनि सडक दुर्घटनाबाट दुई हजारभन्दा बढीको ज्यान जाने गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु