खानेपानी आयोजना अलपत्र

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौ, १ जेठ । रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा रहेको निर्माणाधीन खानेपानी ओभर हेड ट्याक्कीका ठेकेदार काम नसकी भागेपछि करोडौँ रुपैयाँको खानेपानी आयोजना अलपत्र परेको छ र उपभोक्ता समस्यामा परेका छन् ।
तीन लाख ६० हजार लिटर क्षमता भएको ट्याक्की रु एक करोड ६२ लाखको लागतमा २०७२ असार मसान्तसम्म सम्पन्न गर्ने गरी खानेपानी डिभिजन कार्यलयबाट अजम्बर सिवराम जेवी कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेकेदार सम्पर्कमा नआएपछि ट्याङ्की निमार्णमा ढिलाइ भएको छ ।
खानेपानी डिभिजन कार्यालयका प्रमुख शङ्करमणि पोखरेलले पहिलो छ महिनासम्म ठेकेदारले निरन्तर काम गरेपनि पछि काम गर्न छाडेको बताउनुभयो ।
यसैबीच कार्यालयले पुरानो ठेकेदार कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरेर अर्को ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
उक्त ट्याक्कीमा सङ्कलित पानी सैनामैनाको नगरपािलका ९, १० र १२ वडाका एक हजार ३०० उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो । अहिले ७२० उपभोक्ताको घरमा धारा जडान गरी सिधै पानी वितरण भइरहेको छ ।
पाइपलाइन विस्तार कार्य तीव्र गतिमा अघि बढेको भए पनि ठेकेदारले समयमै ट्याक्की निमार्ण नगर्दा उपभोक्ता मारमा परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु