पानी नपरेपछि…

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौं,३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ÷नौजना पण्डित पढाएर बिहीबार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिए ।
बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा पुगेका थिए ।
बेहुली पक्षका किसानले भने धुमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदाबारी गरेका थिए । बेहुली पक्षले पनि महादेवलाई पानी माग्दै नौजना पण्डित पढाएका थिए । बिहेमा ३०० भन्दा बढी किसानको सहभागिता थियो । पानी पर्छ भन्ने विश्वासमा भ्यागुताको बिहे गराइदिएको विवाह व्यवस्थापन समितिका ज्ञानराज भट्टराईले बताए । भोजपुरका केही भागमा लामो समय पानी नपर्दा किसानले बारी जोत्ने, मकै छर्ने लगायतका काम गर्न नपाएको टक्सारका किसान श्रीप्रसाद श्रेष्ठले बताए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु