इरानी नागरिक हजयात्रामा जान नपाउने

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौं,३१ वैशाख । साउदी अरबसँग भएको छलफल निष्कर्षहीन भएसँगै यस वर्ष इरानी नागरिकले हजयात्रा गर्न नपाउने भएको इरानी अधिकारीले जनाएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार इरानले हजयात्रीका लागि सुरक्षा व्यवस्था सम्झौता नहुनुमा साउदी अरब जिम्मेवार रहेको आरोप लगाएको छ । साउदी अरबले वार्तामा उदासिनता देखाएको इरानी अधिकारीको आरोप छ ।
हज व्यवस्थाका बारेमा दुई मुलुकबीच तनावपूर्ण अवस्थामा सुरु भएको थियो । इरान र साउदी आपसमा अरब क्षेत्रका प्रतिद्वन्द्वी मुलुक हुन् । यी दुई मुलुकबीच सिरिया र यमन संकटको विषयलाई लिएर पहिलादेखि नै तनावपूर्ण सम्बन्ध देखिएको थियो ।
गत वर्ष हजयात्राका क्रममा भएको भागदौडमा सयौं तीर्थालुको मृत्यु भएको थियो । मृतकमा अधिकांश इरानी नागरिक थिए । इरानले साउदी अरबमाथि हजयात्राका क्रममा उचित सुरक्षा प्रवन्ध नगरेको आरोप लगाएको थियो । इरानका सर्वोच्च नेता आयातुल्ला खमेनीले सो घटनाको जिम्मेवारी स्वीकार गर्न र माफी माग्न साउदी अरबलाई सार्वजनिक रुपमै अपिल गरेका थिए । सो घटनाको केही दिनमै साउदी अरबले शिया धर्मगुरु निम्र अल निम्रलाई मृत्युदण्ड दिएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्ध अझ तिक्ततापूर्ण बन्यो । इरानी प्रदर्शनकारीले तेहरानस्थित साउदी दुतावासमा आक्रमण गरे । जवाफमा साउदी अरबले इरानसँगको आफ्नो कुटनीतिक सम्बन्ध अन्त्य गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु