पुन निर्माणको लागि पञ्चबर्षिय खाका सार्वजनिक

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० वैशाख । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी पाँचवर्षे कार्ययोजना सार्वजानिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको व्यवस्थापिका–संसदमा बोल्दै सो कार्ययोजना सार्वजानिक गरेका हुन् । संसदमा प्रधानमन्त्री ओलीले कार्ययोजनाले भूकम्पपश्चात पुनःनिर्माणसम्बन्धी स्पष्ट मार्ग निर्देशन प्रदान गरेको बताए । प्रधानमन्त्री ओलीले भूकम्पछिको विस्तृत अध्यययन प्रतिवेदनको सट्टामा कार्ययोजना आएको होइन भने ।
भूकम्पपछि पुनःनिर्माणका लागि सरकारी, निजी दातृ निकायलाई स्पष्ट मार्गदर्शनका लागि कार्ययोजना ल्याइएको उनले स्पष्ट पारे । यसअघि पिडिएनएको प्रतिवेदनमा रु छ खर्ब ९९ अर्ब लागत प्रक्षेपण गरिएकामा अहिले क्षतिग्रस्त घरधुरीको सङ्ख्या थप देखिएको र मन्त्रालयले समेत थप माग गरेका कारण अहिलेको रकम वृद्धि भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले कार्ययोजनाले रु ८३८ अर्ब बराबरको रकम पाँच वर्षका लागि विनियोजन गरेको जानकारी दिँदै दुई वर्षभित्रमा सबै आवास निर्माण गरिसक्ने गरी निजी आवासका लागि रु छ खर्ब ४५ अर्ब, उत्पादन क्षेत्रमा रु एक खर्ब छ अर्ब, प्रवद्र्धनात्मक खर्चमा रु ६१ अर्ब र अन्तरविनियोजनमा रु २६ अर्ब विनियोजन गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र सबै सांस्कृति तथा पुरातात्विक धरोहरको पुनःनिर्माण गरिसक्ने, तीन वर्षभित्र स्वास्थ्य चौकी, अस्पताल र सरकारी भवन निर्माण गरिसक्ने गरी कार्ययोजना आएको जानकारी दिए । उनले महत्वपूर्ण निर्माणका लागि आवश्यक नीति र संरचनागत व्यवस्था, आवश्यक वित्तीय व्यवस्थापनको मार्ग निर्देशन कार्ययोजनामा रहेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु