हुन्डी कारोबारी प्रहरीको फन्दामा

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौं,३० वैशाख । प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सन्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सन्चालकसहित १५ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले रु एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीले न्युरोडमा मोबाइल पसल सन्चालन गर्दै आएका सुरेन्द्रकुमार गोयलबाट रु ५० लाख ६५ हजार नेपाली र एक लाख भारतीय रुपैयाँ, हुन्डीका लागि आएका ग्राहक प्रकाश शर्माबाट रु १५ लाख १३ हजार ५००, अर्का ग्राहक आकाश देवबाट रु १२ लाख ६६ हजार रकम प्राप्त गरेकै अवस्थामा बरामद गरेको छ ।
त्यसैगरी, पशुपति प्लाजामा रहेको हंशमनी ट्रान्सफरबाट रु पाँच लाख, प्रभु मनि ट्रान्सफरबाट रु तीन लाख ४२ हजार बरामद गरेको छ । त्यस्तै, नयाँ सडक क्षेत्रकै प्याफलमा रहेको शंकर अग्रवालको पसलबाट रु २९ लाख ५० हजार, अर्जुन कँडेलबाट रु ६ लाख ५० हजार, फुर्वा शेर्पाबाट रु १२ लाख प्रहरीले बरामद गरेको छ । महाशाखाको टोलीले पशुपति प्लाजामा रहेको पूर्णलक्ष्मी इन्टरप्राइजेजका सन्चालक सूर्यकुमार शर्माबाट रु २० लाख, न्यु मारुति इन्टरप्राइजेजका सन्चालक सन्दिप अग्रवालबाट रु १३ लाख बरामद गरेको छ । प्रमुख खनालले उनीहरूले अवैधरुपमा हुन्डीको कारोबार गरिरहेको र अष्ट्रेलिया, बेलायत, थाइल्यान्ड र युएइमा हुन्डीमार्फत् कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु