गृहमन्त्रीद्वारा बहुउद्देश्यीय शिरीष हलको उदघाटन

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौँ, २९ बैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको हाता भित्र निमार्ण गरिएको बहुउद्देश्यीय “शिरीष हल”को उदघाटन गरेका छन । उक्त भवन ४४ लाख ३ हजार ५ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । कार्यक्रममा गृहमन्त्री बस्नेतले १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा सहभागी भई रजत तथा काश्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार समेत प्रदान गरे । उनले प्रहरी प्रधान कार्यालयको २०७३ बैशाख ७ गतेको निर्णयानुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा फुटबल खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी राष्ट्र र नेपाल प्रहरीको छवि उच्च राखी विशेष योगदान पुर्‍याए बापत प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका रबिन श्रेष्ठलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरे ।
कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले खेल मार्फत नेपाल प्रहरीले प्राप्त गरेको उपलब्धी गौरव गर्न लायक रहको बताउदै सामूहिक भावना, अनुशासन, उद्देश्य प्राप्ति प्रति समपर्ण भाव जस्ता साझा विषेशता प्रहरी संगठन र खेल दुबैमा हुने भएकोले दुबै एक अर्काको परिपुरकको रुपमा रहेको बताए । खेलले भाषा, क्षेत्र, जाति केही नभनी सिंगो राष्ट्रलाई एकिकृत गर्न योगदान पुर्याउने समेत उनले उल्लेख गरे । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भौतिक संरचना निर्माण साधन मात्र हो साध्य होइन भन्दै कार्यशैलीमा नविनता र समर्पण भाव ल्याएर निर्मित संरचनाको उद्देश्यलाई सार्थक बनाउन सकिने बताए । भौतिक संरचना निमार्ण गर्न योगदान पुर्याउने व्यक्तिलाई सदैव स्मरण गरिने बताउँदै उनले निर्मित संरचनाहरु साझा उपलब्धी भएकोले यसको संरक्षण सबैको जिम्मेवारी भएको औंल्याए ।
कार्यक्रममा स्वागत मन्तव्य तथा भवन निमार्ण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले नेपाल प्रहरीले स्थापनाको समय देखि खेललाई उच्च महत्वमा साथ लिएको बताए । राष्ट्रिय खेल विकासमा नेपाल प्रहरीको उल्लेख भूमिका रहेको समेत उनले बताए ।
कार्यक्रममा गृहसचिव, ओलम्पिक कमिटिका अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा आत्मरक्षा कला अन्तर्गत खेलाडी वर्गबाट जुडो, कराँते, तेवान्डो प्रर्दशनसमेत गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु