टेन्ट र पालमा बसेकालाई सामूहिक आवास

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्षको भूकम्पबाट प्रभावित भई हालसम्म टेन्ट वा पालमुनि बसिरहेका घर परिवारको वास्तविक सङ्ख्या यकिन गर्ने कार्य जिल्ला दैवीप्रकोप उद्धार समितिलाई जिम्मा दिएको छ ।
हाल प्रभावित जिल्लामा इन्जिनियरलाई समेत परिचालन गरी प्राप्त तथ्याङ्कका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्ला आयोजना कार्यान्वयन एकाइलाई समेत परिचालन गरी निर्माण सामग्रीको आवश्यकता, सुरक्षा निकायबाट निर्माण कार्यमा खटाउनुपर्ने जनशक्ति तथा स्वयम्सेवकको आवश्यकतासहितको कार्ययोजना तयार पार्नेछ ।
सो योजना यही वैशाख मसान्तसम्ममा प्राधिकरण एवम् केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा पठाइ आगामी जेठ ७ गतेदेखि अस्थायी आवास निर्माण कार्य आरम्भ गरी मनसुनअगावै सम्पन्न गर्ने व्यवस्था मिलाइने भएको छ ।
प्राधिकरणमा सोमबार सहरी विकास मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, तीनवटै सुरक्षा निकायका अधिकारीको बैठकले सो निर्णय गरेको हो ।
विभिन्न कारणले हालसम्म पनि टेन्ट वा पालमा बसोबास गरिरहेका भूकम्पपीडित घर परिवारलाई निजको स्थायी आवास पुनःनिर्माण नहुँदासम्म बसोबास गर्नसक्ने गरी अस्थायी वा सङ्क्रमणकालीन आवास निर्माण गर्न सहयोग गर्नुपर्ने देखिएकाले आवश्यक समन्वय गरी आगामी मनसुनअगावै आवश्यक व्यवस्था मिलाउने तयारी भएको हो ।
हाल आफ्नै सुरक्षित जग्गामा बसिरहेका घर परिवारलाई सोही स्थानमै अस्थायी आवास निर्माण गर्नमा सहयोग पु¥याउने, आफ्नो जग्गा नभएको कारण वा आफ्नो जग्गा असुरक्षित भएका कारण अन्यत्र (टेन्ट वा पालमुनि) बसोबास गरिरहेका घर परिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गरी बसोबास गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
यसरी निर्माण गरिने व्यक्तिगत वा सामूहिक आवासका नमुना डिजाइन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विगतमा भएका नमुना डिजाइन समेतलाई ध्यानमा राखी आगामी तीन दिनभित्र तयार पारिनेछ । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु