ठग शैक्षिक परामर्श संस्थालाई कारवाही गर्न निर्देशन

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौं, २४ वैशाख । व्यवस्थापिका संसदअन्तर्गत अन्तर्राष्ट्रिय समितिले विभिन्न शैक्षिक परामर्श संस्थाले विद्यार्थीहरुलाई विभिन्न देशमा पढ्न पठाउने बहानामा ठग्ने गरेकाले त्यस्ता संघसंस्थाको अनुगमन गरी कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले शिक्षा मन्त्रालयका अधिकारीहरुलाई विद्यार्थीप्रति भइरहेको ठगिमा सजग रहन भनेको हो । शिक्षा मन्त्रालयले भने शैक्षिक परामर्श संस्था खोल्न आवेदन दिएका ७३१ मध्ये ४०२ संस्थाले अनुमति पाएको र तिनीहरुमाथि कडा निगरानी राख्दै आएको जनाएको छ । पढाइको गुणस्तर स्वदेशभन्दा विदेशमा भएकाले विद्यार्थीलाई विदेश जानबाट रोक्न नसक्ने पनि मन्त्रालयले प्रष्ट गरेको छ ।
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले समझदारीपत्र (एमओयु) गरेरमात्र विद्यार्थी विदेश पठाउँदा ठगिनबाट बच्ने भएकाले अनिवार्य रुपमा एमओयु गरेरमात्र विदेश जान आग्रह गरे । विभिन्न ४४ संस्थामा छापा मारी २०८ जनामाथि कारवाहीको प्रक्रिया थालिएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रियाहरु