विद्यालयमा भर्ना शुल्क ५० हजार, मासिक शुल्क २८ हजार

२०७३ बैशाख २३ गते, बिहीबार

काठमाडौं, २३ वैशाख । विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन् । राजधानीमा संचालित केही निजी विद्यालयमा बुधबार अनुगमन गर्दा यस्तो पाइएको हो ।
प्रचलित नियमकानुनको बेवास्ता गर्दै शुल्क उठाएको गुनासो आएपछि शिक्षा विभाग नेतृत्वको टोली र मूख्य दल निकट विद्यार्थी संगठनले बुधबार छुट्टाछुट्टै रुपमा विद्यालयको अनुगमन गरेका थिए ।
विभागका उपनिर्देशक बलबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले प्रिमियर र एपेक्स स्कूलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रिमियरले विद्यार्थीसँग भर्ना शुल्कबापत ५० हजार रुपैयाँ लिएको पाइएको थियो । त्यस्तै चाबहिलस्थित एपेक्स स्कूलले मासिक शुल्कबाहेक वार्षिक शुल्कका नाममा १५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइयो ।
यस्तै मुख्य दल निकट विद्यार्थी संगठनले ललितपुरको युलेन्स र रातो बंगला स्कूलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा युलेन्स स्कूलले कक्षा १ मा मासिक २८ हजार रुपैयाँ शुल्क लिएको पाइएको अनुगमनमा सहभागी नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताए । -अन्नपूर्ण पोस्टबाट

प्रतिक्रियाहरु