चार वर्षमा २९ विद्यालय समायोजन

२०७३ बैशाख २३ गते, बिहीबार

काठमाडौ, २३ वैशाख । सबैभन्दा धेरै प्राथमिक विद्यालय रहेको जिल्लाको नामले परिचित स्याङ्जामा पछिल्लो समय विद्यालय गाभिने क्रम बढ्दो छ । स्याङ्जामा २०६९ सालदेखि हालसम्म २९ वटा प्राथमिक विद्यालय एकआपसमा गाभिएका जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार २०६९ सालमा ६, २०७० मा आठ, ०७१ मा ६ र ०७२ मा नौवटा प्राथमिक विद्यालय समायोजन भएका हुन् । १–५ कक्षासम्म सञ्चालन हुँदै आएको जिल्लाको एक विद्यालयलाई भने विद्यार्थी सङ्ख्या अपुग भएको भन्दै कक्षा घटाएर १–३ मा झारिएको छ ।
विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुनु, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । यस शैक्षिकसत्रमा पनि विद्यालयमा विद्यार्थी सङ्ख्याको विवरण लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ । स्याङ्जामा हाल सामुदायिकतर्फ ३४४ प्रावि, निमावि ५४ र मावि ५३ वटा रहेका छन् भने संस्थागततर्फ प्रावि ३०, निमावि १२ र मावि ३२ वटा रहेका छन् भने सामुदायिकतर्फ उच्च मावि ७५ र संस्थागततर्फ १० वटा रहेका छन् । त्यस्तैगरी, स्याङ्जामा गुरुकुल पाँच र मदरसा नौवटा रहेका पनि जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।- रासस

प्रतिक्रियाहरु