मरिसकेका भनेका मान्छे काजक्रिया गर्ने तयारी गर्दागर्दै घर फर्केपछि …..

२०७३ बैशाख ८ गते, बुधबार

काठमाडौं, ८ वैशाख । जाजरकोट कार्कीगाउँ–२ साल्मका मन्दिर रोकायको परिवारलाई उनी जीवितै छन् होला भन्ने लागेको थिएन । १५ वर्षअघि घरबाट बेपत्ता भएका रोकायको मरेको र जिउँदो केही खबर थिएन । कतिले मरिसकेको हल्ला गरे, कतिले अर्काे बिहे गरेर कतै बसेको हुनसक्ने आशङ्का गरे, कतिले माओवादीमा लागेको अनुमान पनि गरे । तर उनका विषयमा कतैबाट आधिकारिक खबर भने आएन । १५ वर्षसम्म पनि घर नफर्किएपछि परिवारलाई समेत मन्दिर जीवितै होलान् भन्ने कुरामा शङ्का थियो ।
उनको परिवार परम्पराअनुसार काजक्रिया गर्ने तयारीमा थियो । तर यही बेला रोकाय घर फर्किएका छन् । मरिसकेको भनेर हल्ला गरिएका व्यक्ति घर आएपछि रोकायको परिवार मात्र होइन गाउँलेसमेत अचम्ममा परेका छन् । अहिले रोकायको घरमा उनलाई भेट्नेको भीड लागेको स्थानीय पूर्ण महताराले जानकारी दिनुभयो । रोकायलाई गाउँलेले फूलमाला, अबिर लगाएर स्वागत गरेको महताराले बताए ।
२०५८ साल जेठ २६ गते श्रीमतीसँग सामान्य घरायसी विवाद भएपछि रोकाय घर छोडेर हिडेका थिए । त्यतिबेला श्रीमती भद्री रोकायले उनी माओवादीमा लागेको अनुमान गरेकी थिइन् । तर माओवादीमा लागेका अन्य छिमेकी बेलाबेला घर आउने जाने गरिरहँदा रोकाय नआएपछि श्रीमती भद्रीको मनमा पनि चिसो पसेको थियो । “सोचेँ, पुलिसले मा¥यो होला, अब जीवितै भेट्ने आशा छैन”, उनले भनिन् ।
रोकायले घर छोड्दा चार वर्षीय नाबालक छोरा दीपक श्रीमती भद्रीको साथमा थिए । अहिले उनी १९ वर्षका भए र बिहेसमेत गरेका छन् । दुई छोरा र तीन छोरीका बाउ रोकायका सबै सन्तानले बिहे गरिसकेका छन् । उनीहरुबाट पाँच नातीनातिना छन् । “बा कस्तो हुनुहुन्थ्यो भन्ने मलाई केही यादै थिएन, जब घर आउनुभयो मैले चिन्दै चिनिन”, छोरा दीपकले भने ।
मन्दिरलाई भारतमा भेटेको कमाई गर्न गएका छिमेकीले उनको घरमा खबर पु-याउने गर्थे । तर उनी नफर्किंदासम्म परिवारलाई विश्वास लागेको थिएन । घर छोडेर आफूले गल्ती गरेको रोकायको भनाइ छ । अब बाँचुन्जेल घरपरिवारसँगै बस्ने उनको चाहना छ । “सानो कुराले घर नछोड्नुपर्नेथ्यो, बहुत गल्ती गरियो”, रोकायले भने, “जवानी पनि त्यसै खेर गयो, अब मरुन्जेल कतै जान्न ।” घर छोड्दा रोकायको उमेर ३८ वर्ष थियो । १५ वर्षको अवधिमा भारतका विभिन्न सहरमा मजदुरी गरेको रोकायले बताए ।
गढवाल, दिल्ली, चन्डिगढ, किन्नौर, सिम्ला लगायतका सहरमा मजदुरी गरेको उनले बताए । “कमाउन केही सकिएन, अलिअलि कमाएको पैसा डुल्दैमा सकियो”, रोकाय भन्छन् । श्रीमती भद्रीका अनुसार गाउँमा हुँदा पनि रोकाय जाँड खाने र जुवातास खेल्ने गर्थे । त्यही विषयमा सामान्य ठाकठुक परेपछि रोकायले घर छोडेर हिँडेका थिए । हेमन्त केसी/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु