युनेस्कोका महानिर्देशक र प्रधानमन्त्रीबीच भेटवार्ता

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौं, ६ बैशाख । युनेस्कोका महानिर्देशक इरिना बकोभाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा युनेस्कोका महानिर्देशक बकोभाले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको बारेमा जानकारी लिएकी थिइन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा युनेस्कोको सहयोगको प्रशंसा गर्दै नेपालको दीर्घकालीन विकासमा थप सहयोग गर्न आग्रह गरेका थिए ।
नेपालको तीन दिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएकी बकोभाले आजै युनेस्कोको विश्व सम्पदा सूचीमा परेको बसन्तपुर दरबार स्वायरको पनि अवलोकन गरिन । आजै साँझ उनले युनेस्को र सरकारले मिलेर सुरु गर्न लागेको संयुक्त कार्यक्रम बालिकाका लागि शिक्षाको पनि उद्घाटन गर्नेछिन् ।
उनले नेपाल बसाईका क्रममा भूकम्पपछिको पुनर्निर्माण प्रक्रियाको अनुगमनका साथै विश्व सम्पदा स्थल तथा सामुदायिक अध्ययन केन्द्र र युनेस्कोका परियोजनाहरु सञ्चालन भएका स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ । उनले भोलि बुद्धको जन्मथलो लुम्बिनीको पनि भ्रमण गर्नेछिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु