भूकम्पपछि जापानमा उद्धार कार्य तीब्र

२०७३ बैशाख ५ गते, आईतवार

काठमाडौं, ५ वैशाख । जापानको दक्षिण पश्चिमी क्युशु टापुमा गएका दुईवटा शक्तिशाली भूकम्पपछि बचाउ र उद्धारलाई तीब्र पारिएको छ । लगातार पराकम्पहरु गइरहे पनि भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै निकाल्ने प्रयास जारी छ । सुधारिएको मौसमको फाइदा उठाउँदै भूकम्पबाट बढी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पका कारण २ लाख ५० हजार मानिस घरबारविहिन भएका छन् । कुमामोटो शहर केन्द्रविन्दु भएर बिहीबार ६.४ र शनिबार ७.३ म्याग्नेच्यूडको भूकम्पमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
घाईते करिब २ हजार जनालाई उपचार गरिएको छ भने २ सय भन्दा बढी गम्भिर घाइते भएका छन् । भग्नावशेषमा दर्जनौं मानिस च्यापिएको आशंका गरिएको छ ।
उद्धारका लागि २५ हजारको संख्यामा सेना परिचालन गरिएको छ । रातभर भारी वर्षा भएको छ भने र पराकम्प पनि लगातार गइरहेका छन् । भूकम्प प्रभावित अधिकांशले आफ्नो जीवनकालमा यस किसिमको भूकम्पको अनुभव नगरेको बताएका छन् ।
४ लाख २२ हजार घरमा खानेपानीको अभाव भएको छ र १ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको अधिकारीहरुले जनाएका छन् । भूकम्पका कारण सडक, पुल, सुरुङ मार्ग, घर, विद्यालयमा ठूलो क्षति पुगेको छ । ठूलो पहिरोका कारण पहाडी गाउँहरुसँगको सम्पर्क विच्छेद भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु