विश्वमा मोटा मानिसको संख्या अत्यधिक

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौँ । विश्वमा बसोबास गर्ने मोटा मानिसहरुले संख्याको आधारमा दुब्ला मानिसहरुलाई उछिनेका छन् । सामान्य भन्दा कम तौल भएका अर्थात् दुब्लोपनाबाट ग्रसित मानिसहरुको संख्याभन्दा मोटोपनाबाट ग्रसित मानिसहरुको संख्या बढि भएको एक तथ्यांकले देखाएको छ । बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार विश्वमा मोटोपनाबाट ग्रसित मानिसहरुको संख्या सन् २०१४ मै ६४ करोड १० लाख पुगेको छ । यो संख्या सन् १९७५ मा १० करोड ५० लाख थियो । शोधकर्ताहरुले सन् १९७५ देखि सन् २०१४ को अवधिमा विश्वका २ करोड वयस्क मानिसहरुको सरीरको मोटोपनाको मापकको रुपमा रहेको बडी मास इन्डेक्सको मापन गरी त्यसको तथ्यांक विश्लेषण गरेका हुन् ।
दी ल्यान्सेट जर्नलमा प्रकाशित शोधका मुख्य शोधकर्ता प्राध्यापक मजिद इजातले विश्वमा चरम मोटोपनाको महामारी नै फैलिएको बताएका छन् ।
शोधकर्ताहरुले विश्वका विभिन्न १ सय ८६ देशका वयस्कहरुको डाटा संकलन गरेका हुन् । शोधकर्ताहरुका अनुसार यस अवधिमा विश्वमा कम तौल भएका अर्थात् दुब्लाहरुको संख्या ३३ करोडबाट बढेर ४६ करोड २० लाख पुगेको छ । शोधकर्ताहरुका अनुसार सन् १९७५ देखि २०१४ को अवधिमा विश्वका पुरुषहरुको मोटोपनाको दर ३.२ प्रतिशतबाट बढेर १०.८ प्रतिशतमा पुगेको छ । त्यस्तै महिलाको मोाटोपनाको दर ६.४ प्रतिशतबाट बढेर १४.९ प्रतिशतमा पुगेको अध्ययनले देखाएको छ ।
यस अनुसार सन् २०१४ सम्ममा विश्वमा मोटोपना भएको पुरुषको संख्या २६ करोड ६० लाख पुगेको छ भने महिलाको संख्या ३७ करोड ५० लाख छ ।
शोधकर्ताका अनुसार पछिल्लो ४० वर्षमा विश्वमा मोटोपना भयंकर रुपले बढेको छ । ४० वर्षअघि विश्वमा मोटोपना भएका मानिसहरुको तुलनामा कम तौल भएका अर्थात् दुब्लाहरुको संख्या दोब्बरले बढि रहेकोमा अहिले दुब्लाहरुभन्दा मोटाहरुको संख्या झण्डै २० करोड बढि पुगेको छ । शोधकर्ता इजातका अनुसार विश्वमा मोटोपनाको समस्या संकटपूर्ण विन्दुमा पुुगेको छ । अध्ययन अनुसार विश्वमा अहिले सबैभन्दा धेरै मोटोपना भएका देशहरु चीन तथा भारत हुन् । सबैभन्दा बढि मोटोपना भएका मानिसहरु भएको चीनमा ४ करोड ३२ लाख पुरुष अनि ४ करोड ६४ लाख महिला मोटोपनाबाट पीडित छन् । दोश्रो स्थानको अमेरिकामा ४ करोड १७ लाख पुरुष तथा ४ करोड ६१ लाख महिला मोटोपनाबाट ग्रसित रहेको पाइएको छ ।
शोधकर्ताहरुका अनुसार पछिल्लो ४० वर्षको अवधिमा कम तौल हुनेहरुको दर अर्थात् दुब्लोपनाको दर भने घटेको छ । यो अवधिमा पुरुषको दुब्लोपनाको दर १४ प्रतिशतबाट ९ प्रतिशतमा झरेको छ भने महिलामा यो दर १५ बाट दश प्रतिशतमा झरेको छ । कम तौलका मानिसको ठूलो प्रतिशत भारत तथा बंगलादेश जस्ता देशमा भएको पनि अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार मोटोपनाको दर तिव्र रुपमा बढिरहनु खतरापूर्ण रहेपनि आवश्यकता भन्दा कम तौल भएका अर्थात् कम वजन र उचाइ भएका मानिसहरुको संख्या घट्नु स्वास्थ्यको दृष्टिले सकारात्मक छ ।

प्रतिक्रियाहरु