लाखौ बालबालिका विद्यालय जानबाट बन्चित

२०७३ बैशाख ३ गते, शुक्रबार

काठमाडौं, ३ वैशाख । शिक्षा विभागले अझैपनि लाखौ बालबालिका विद्यालय जानवाट बन्चित भएको जनाएको छ । उनीहरुलाई अभिभावकले नै विद्यालय नपठाएको विभागले जनाएको छ । अभिभावकले बालबालिकालाई काममा लगाउने गरेका कारण उनीहरु विद्यालय नपाएका हुन् ।
सरकारले सबैका लागी आधारभूत शिक्षा भन्दै १२ वर्षदेखि विद्यालय भर्ना अभियान सुरु गरेपनि अझै ११ लाख बालबालिका विद्यालय जानबाट बन्चित रहेका छन् । सविधानको धारा ३१ मा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा हक’ भनेर उल्लेख गरिएको छ ।
शिक्षालाई मैलिक हककोरुपमा राखेर सबैलाई आधारभूत शिक्षा प्रदान गर्ने भनिए पनि ११ लाख बालबालिकालाई विद्यालयसम्म ल्याउन न त शिक्षा मन्त्रालय अग्रसर छ न त शिक्षा विभाग नै । सरकारले ‘हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारासहित यो वर्ष पनि भर्ना अभियान सुरु गरेको छ । हाल ९६ दशमलव ६ प्रतिशत बालबालिकामात्र विद्यालय जाने गरेका छन् । तर, सरकारी अधिकारीहरु भने गरिबीका कारण बालबालिका विद्यालय भर्ना हुन नसकेको भन्दै पन्छिने गरेका छन् । विशेषगरी पिछडिएका समुदायका बालबालिका विद्यालय जान सकिरहेका छैनन् । चेपाङ, दनुवार, धानुक, झागड, बोटे, राउटेलगायतका समुदायका बालबालिका विद्यालय जानबाट बन्चित छन् । महोत्तरी, सर्लाही, कपिलवस्तु, जुम्ला, रौतहट, रोल्पा, अछाम, कन्चनपुर, सुर्खेत, बाँके र काठमाडौंलगायतका १५ जिल्लाका धेरै बालबालिका विद्यालय जान पाएका छैनन् ।
त्यसैगरी, भक्तपुरका विभिन्न इँटा भट्टामा काम गर्ने बालबालिकालाई पनि विद्यालयसम्म पुर्‍याउन सकिएको छैन ।

प्रतिक्रियाहरु