छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

२०७३ बैशाख २ गते, बिहीबार

काठमाडौँ, २ वैशाख । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ घाइते थिइन् ।
उनका श्रीमान् २६ वर्षीय बुरबहादुर गुरुङ वडा नं ४ मा घर बनाउन मेला गएका थिए । घरको धुरी मार्ने काम भइरहेको थियो । एक्कासि भूकम्पले हल्लायो । घर भत्कियो । सुरक्षित ठाउँमा जान नसक्दा बुरबहादुरसँगै अरु कामदारले पनि ज्यान गुमाए ।
श्रीमान्को मृत्युको खबरले मुर्छित २३ वर्षीया गममायालाई परिवार, छरछिमेकको सान्त्वना र सहयोगको खाँचो भए पनि कसैले सहयोग गरेनन् । बरु ‘लोग्ने टोक्वा’ को आरोपसँगै घर निकालाको सजाय पाइन्, उनले ।
जेठ ११ मा उनलाई अर्को बित्यास् आइलाग्यो । बिहानैदेखि बेथाले च्याप्यो । अस्पतालसम्म पु¥याउने कोही भेटिएनन् । पीडाका बीच उनले छोरो जन्माइन् । परिवारको सहयोग नपाए पनि माइती पक्षको सहयोगले छोरो हुर्काएकी छिन् । छोराको नाम भीमबहादुर हो ।
सासू काली र ससुरा सन्तबहादुरले घर निकाला गरेपछि उनी बारपाक–४ स्थित माइतीको टहरोमा शरण लिँदै आएकी छिन् । विपद्को भरपर्दो सहयात्री उनले माइती खलक भेटिन् । माइतमा सबैले माया गरेर पाले पनि उनलाई घर र श्रीमान्को यादले सताउँछ ।
भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत वितरण सुरु ग¥यो । रु ४० हजार किरिया खर्चसहित रु एक लाख ४० हजार राहत आयो । सासू ससुराले राहत बुझे । “सरकारले दिएको राहत पनि सासू ससुराले खोसे,” उनले भनिन् – “त्यो पैसा हात परेको भए छोराको भविष्य बन्थ्यो ।” छोरो हुर्काएर पढाउन पैसा चाहिने उनको भनाइ छ ।
बारपाक केन्द्रविन्दू भई भूकम्प गएको पनि एक वर्ष भयो । वर्ष बिते पनि गममायाको पीडा जस्ताको त्यस्तै छ । न त बस्ने घर छ, न त आफ्नो नाउँमा जग्गा, जमिन । आँखामा आँसु लिएर सरकारको बाटो हेर्नबाहेक अरु केही गर्न सक्दिनन् उनी । “थाहै नपाई मुर्छा हुँदोरहेछु,” उनले भनिन् – “तनावका बीच बाँचिरहेको छु, केवल छोराका लागि । उसको सुन्दर भविष्यका लागि ।” उनले काम गरेर खान त सक्छिन् तर छोरा सानो हुँदा कसैले काममा बोलाउँदैनन् ।
“सासू ससुराले ‘आमा, छोरा अलच्छिना’ भन्छन्”, उनले पीडा पोखिन् – “उहाँहरुसँग मुखमुखै लाग्न मनले दिँदैन ।” घर निकाला गरेपछि फर्केर एकपटक पनि घर नगएको भन्दै उनले छिमेकीसँग सोधेर सासू ससुराको हालखबर बुझ्दै आएको बताइन् । एकपछि अर्को पीडाले मानसिक आघात परे पनि एक वर्षको अवधिमा मनोपरामर्श दिने कोही भेटिएन ।
उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म पुग्दा उनले केही सहयोग पाइनन् । “श्रीमान् गुम्यो मेरा सबै थोक गुमे,” उनले भनिन् – “उसको नासो हुर्काएर ठूलो बनाउँछु ।” गाउँ पुनःनिर्माणका बेला नयाँ घर बनाउन अनुदान रकम आउने पक्कापक्की भए पनि उनको नाउँमा लालपुर्जा छैन । “हामी त सुकुम्बासी हुने भयौँ,” उनले भनिन् । प्रशन्न पोखरेल/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु