विद्यार्थी भर्ना अभियान सुरु

२०७३ बैशाख २ गते, बिहीबार

काठमाडौं, २ वैशाख । ‘हामी सबैको इच्छा, सर्भसुलभ विद्यालय शिक्षा’ भन्ने नारासहित आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ५ वर्षदेखि १२ वर्षसम्मका सबै बालबालिकालाई अनिवार्य शिक्षाको लागि सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको हो । तर अहिलेपनि ११ लाख भन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेका शिक्षा विभागले जनाएको छ ।
विभागका महानिर्देशक खगराज बरालका अनुसार ११ लाख ८८ हजार एक जना बालबालिका अझै पनि विद्यालय बाहिर छन् । जसमा ६ लाख २९ हजार ७६ जना बालिका छन् भने पाँच लाख ५८ हजार नौ सय २५ बालक छन् ।
विभागका अनुसार १० लाख ९२ हजार तीन सय ४२ बालबालिका दुर्गम क्षेत्रका छन् भने बाँकी शहरी क्षेत्रका छन् । यी सबै बालबालिकालाइ एकै पटक विद्यालय भर्ना गर्न नसकिएपनि यसवर्ष तीन लाखलाई शिक्षाको पहुँचमा ल्याउने सरकारको योजना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार ५ वर्षका ३६ प्रतिशत, ६ वर्षका २१ प्रतिशत, ७ वर्षका १३ प्रतिशत, ८ वर्षका १२ प्रतिशत, ९ वर्षका ७ प्रतिशत, १० वर्षका १० प्रतिशत बालबालिका अझैपनि विद्यालय बाहिर छन् । त्यस्तै ११ वर्षका ७ प्रतिशत, १२ वर्षका १० प्रतिशत, १३ वर्षका ८ प्रतिशत, १४ वर्षका १२ प्रतिशत, १५ वर्षका १८ प्रतिशत र १६ वर्षका २५ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर छन् ।
६१ सालमा भर्ना अभियान सुरु गर्दा २० प्रतिशत बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर भएकामा अहिले झण्डै ४ प्रतिशत बालबालिका मात्र विद्यालय बाहिर रहेको शिक्षा विभागका महानिर्देशक बरालले बताए ।

प्रतिक्रियाहरु