नव वर्ष २०७३ सालको वार्षिक राशिफल

२०७३ बैशाख १ गते, बुधबार

नव वर्ष २०७३ सालमा नेपाली पञ्चांगअनुसार सौम्य नाम संवत्सर परेको छ । वर्षको राजा शुक्र र मन्त्री पदमा बुध रहेका छन् । दुवै ग्रह शुभ र एकअर्काप्रति मित्रभाव राख्नाले यसलाई समग्र रूपमा राम्रो मान्न सकिन्छ । वर्ष सञ्चालनमा विभिन्न विभाग सम्हालेका ग्रहलाई विचार गर्दा पापग्रहको वर्चश्व रहे पनि राज्यको मुख्य पदमा बुध, शुक्र भएकाले ग्रहको गठन शुभ पक्षमा उन्मुख रहने देखिन्छ ।
मौसम परिवर्तनको अवस्था यथास्थितिमा रहे पनि खण्डवृष्टिको योग यथावत् रहनेछ । अतिवृष्टि एवं अनावृष्टि, कतै बाढीपहिरो, कतै सुक्खा खडेरी रहे पनि तुलनात्मक रूपले वर्षा राम्रो हुने भएकाले कृषि उत्पादन सकारात्मक रहनेछ । राजा शुक्र अतिविज्ञ, बुध बालक दक्षताको दूरी धेरै हुनेछ ।
स्त्रीकारक र विज्ञानकारक शुक्र राजा वाणिज्य तथा नपुंसक ग्रह बुध मन्त्री पदमा रहेकोले स्त्रीशक्तिले आफ्नो वर्चस्व जमाउन खोज्ने, अरूको नियन्त्रणमा बल गर्ने अवस्था सिर्जना हुनेछ । राज्यका बुज्रुकहरूले समयमा बुद्धि पुर्‌याएनन् भने उद्देश्य सही र कार्यान्वयन गलत हुन गई समाज अराजक र अनियन्त्रित हुन सक्छ ।
युरोपेली मुलुकमा आतंक फैलिँदै जाँदा अर्थिक मन्दी चरम हुनेछ । जर्मन र जापानलाई पनि अशुभ र शक्तिसम्पन्न राष्ट्रहरूको मतभेदले विश्व जनमानसलाई नै चिन्तित बनाउनेछ । सामुद्रिक निकट देशहरूमा ज्वालामुखी विस्फोटनको सम्भावना पनि उत्तिकै देखिन्छ ।
ग्रहमण्डली सूर्यकै आधारमा रहने एवं वर्ष प्रवेश जगलग्न निर्धारण गरिने भएकाले वर्षभरिको फलका अधिपति वर्ष लग्नमै विशेष ध्यान दिँदा बढी मेल खाने विषयलाई विगतका अनुभव र शास्त्रीय आधारबाट प्रस्ट हुन्छ । सोहीअनुरूप यस वर्षको जग लग्नबारे विचार गर्दा वृश्चिक लग्न परेको छ । लग्नाधिपति मंंगल लग्नमै स्वगृही भई २०७३ वैशाख २ गतेदेखि नै वक्र हुने र साथमा शनिसमेत रहेकाले यो वर्षको सुरुमै अशुभ संकेत देखिनेछन् ।
वायुतत्त्व ग्रह र अग्नितत्त्व ग्रहको द्वन्द्व हुनुका साथै मंगलको सम्बन्ध पृथ्वीसँग विशेष रहन्छ । नेपालको राशिमा पनि परेकाले वर्षारम्भमै राजनीतिमा उतार–चढाव आउनेछ । आपसी मतभेद बढ्ने हुनाले सत्ता परिवर्तनको खेल सुरु हुनेछ । हवाईजहाज दुर्घटनामा ठूला व्यक्तिको मृत्यु एवं अचानक महत्त्वपूर्ण व्यक्तिको निधन हुने सम्भावना पनि वर्षको सुरुमै देखिन्छ ।
समुद्री आँधीहुरी, भूक्षय, आगजनी र भूकम्पजस्ता प्राकृतिक प्रकोपले विश्व जनमानसलाई त्रसित बनाउनेछ । यसको प्रभाव भने प्राचीन हिन्द महाद्वीपमा रहेका सबै भूभाग अझ नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानमा बराबरी रहनेछ । सैन्याधिपति मंगल, सेवाधिपति शनिको द्वन्द्वका साथै चतुर्थभावमा रहेको केतु, दशाभावमा रहेको राहु साथमा गुरु चण्डाल योग बनाएर बसेको छ ।
बृहस्पतिको प्रतिकूल प्रभावका कारण धार्मिक द्वन्द्व बढ्ने, सच्चा धार्मिकहरू ओझेलमा पर्दै जानेछन् । धर्मका नाममा लाभ उठाउनेहरूबीचकै विवादले देशमा विषम अवस्था सिर्जना भई अन्ततः २०७१ साउन २६ मै धर्मयुग आरम्भ भइसकेकाले धर्म रक्षाका लागि सेना परिचालनसम्म हुन सक्छ ।
दशमेश ग्रह सूर्य, षष्ठभावमा भाग्येश तथा धर्मेश चन्द्रमा मृत्युस्थानमा, एकादशेश बुध षष्ठभावमा रहेकाले देशमा आन्तरिक कलह बढ्दै जाने र अर्थतन्त्रलाई धराशायी बनाउँछ । राजनीति तरल हुँदै गएको अवस्थामा अधिक मानिस विचलित हँदै जाँदा राष्ट्र दुःखद स्थितिमा पुग्नेछ ।
यस्तो अवस्थामा छिमेकी र विदेशी मुलुकको हस्तक्षेप, कूटनीतिक मर्यादाले नेटो काट्न सक्ने हुनाले नेपाली जनमानसमा नकारात्मक प्रभाव पर्न सक्छ । ओझेलमा परेका राजनीतिक समूहलाई पनि समेट्दै नेपाललाई माया गर्ने मित्रशक्तिहरूको सहयोग लिँदै, बौद्घिक व्यक्तिहरू, सच्चा धार्मिक समूहको प्रयासमा राष्ट्र, धर्म र प्रजातन्त्रको रक्षार्थ एकजुट हुनेछन् ।
वर्ष लग्नअनुसार सर्वशक्तिवान् ग्रह मंगल र शुक्र नै देखिएकाले महिला शक्ति र सैन्य शक्तिलाई उपयोग गरी विस्थापितहरूको पुनस्र्थापना हुन सक्नेछ । ग्रहको यो विषम परिस्थिति जेठ २२ गतेसम्म रहनेछ । मंगलको वक्र अवस्था असार १० गतेसम्म रहनेछ, पुनः असार ३१ गतेदेखि भदौ ३० सम्म शनि र मंगल वृश्चिक राशिमा रहनेछन् ।
असोज १ गतेदेखि आपसी मतभेद अन्त्य गर्दै राष्ट्रद्रोहीलाई पाखा लगाउँदै राष्ट्र निर्माताहरू एकजुट भएर अघि बढ्नेछन् । असोज ३० सम्म अनिष्ट नहोस् भनेर राष्ट्रका जिम्मेवार व्यक्तिहरूले वर्षआरम्भकै दिनमा ग्रहशान्ति गर्दा अनिष्ट कम हुन सक्छ ।
२०७३ फागुन ५ सम्म तुला राशिलाई अन्त्य साढे सात, वृश्चिक राशिलाई मध्ये साढे सात र धनुलाई आद्य साढे साती रहनेछ । मेष, सिंहलाई अढैया शनि रहनेछ । २०७३ फागुन ५ गतेबाट तुलाको शनिमा साढे सात सकिने र मकर राशिलाई साढे सात आरम्भ हुनेछ । त्यसैगरी मेष, सिंहलाई अढैया शनिले छोड्नेछ भने वृष र कन्यालाई अढैया सुरु हुनेछ ।
साढे साती दशाको फल जन्मकुण्डलीमा शनि शुभ भएमा शुभ फल र अशुभ भएमा अशुभ फल दिनेछ । अढैया भने कसैलाई पनि शुभ नहुने भन्ने शास्त्रीय मान्यता छ । शनि अढैया वा साढे साती वा शनि प्रभावित मानिसहरूले शनिबार बिहान भैरवको पूजा गरी ‘मेरो शनि दोष नाश होस्’ भनी दायाँ हातमा २ मिटर कालो कपडा राखी दस कदमपछि हटेर फरक्क फर्केर हिँड्नू ।
यो सम्भव नभएमा नदीमा पूजा गरी ‘शनि दोष जाओस्’ भनेर दुई मिटर कालो कपडा उँभोतिर फर्केर बगाएपछि त्यता नहेर्ने । यसले पनि शनि दशाको दोष कम हुन्छ ।

मेष
वर्षका ग्रहगोचर मध्यम रहनेछन् । अढैया शनिको प्रभाव आगामी फागुन ५ गतेसम्म रहनेछ । शनि दशमेश र एकादशेश भएकाले यसबाट हुने नकारात्मक प्रभावबाट दुर्घटनामा घाउचोट, हाडजोर्नीको दुखाइ, मिर्गौलामा समस्या आउने सम्भावना अधिक रहन्छ ।
खर्चको गति अनियन्त्रित हुने हुँदा आर्थिक कठिनाइले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा आफूले गरेको उचित कामलाई गलत व्याख्या गर्दै मुद्दा–मामलामा फसाउन शत्रु सक्रिय हुनेछन् । पितालाई संकट आउने योग भए पनि साउन २२ गतेसम्म पञ्चम र माघ १ गतेदेखि फागुन २१ गतेसम्म सप्तममा वृहस्पतिले पूर्ण साथ दिने भएकाले समग्रमा त्यतिञ्जेलको समय शुभ रहनेछ । आम्दानीका अवसर पर्याप्त मिल्नेछन् ।
नवीन सन्तान हुने योगका साथै भएका सन्तानको उन्नति र प्रगतिले मन प्रफुल्ल रहनेछ । भाग्य बलियो हुनेछ, धर्ममा रुचि बढ्नेछ । धार्मिक यात्राका साथै विदेश यात्राका अवसर मिल्नेछन् । बौद्घिक कार्यमा सफलता मिल्नुका साथै राजनीतिक नियुक्तिको अवसर मिल्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नुका साथै नोकरी र राजनीतिमा आएका समस्या पार लगाउन सकिनेछ । बिर्सिएर भुलेका मित्रहरूले याद गर्नेछन् ।
नयाँ मित्रको सहयोगमा धेरै काम हात पार्न सकिनेछ । विपरीत लिंगमा रहेको मित्रभाव प्रेममा परिणत हुनेछ । भइरहेको प्रेम अब वैवाहिक मार्गमा उन्मुख हुनेछ । असार, असोज, माघ, फागुन शुभ महिना, मार्ग, चैत अशुभ महिना रहनेछन्, अरू मध्यम रहनेछन् । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

वृष
समग्रमा यो वर्ष मध्य रहनेछ । वर्षको सुरुदेखि नै केन्द्रादि दोषका साथै गुरु चण्डाल योग बनाएर चतुर्थ भावमा बसेको राहु र वृहस्पतिको प्रभावले माता–पितालाई कष्ट हुनेछ । घरेलु समस्या निकै बढ्ने एवं संयम नअपनाएमा घरै छोड्नुपर्ने स्थिति आउन सक्नेछ । सवारी साधनले दुःख दिनेछ, मित्रहरूसँग विवाद बढ्नेछ, विश्वासघातका कारण प्रतिष्ठित व्यक्तिको प्रतिष्ठामा आँच आउनेछ । बसाइँसराइको योग पनि प्रबल देखिन्छ ।
दुःखद यात्राहरू पनि गर्नुपर्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ, संयम नभएमा बिछोडको स्थिति आउन सक्छ । पेटसम्बन्धी रोगले सताउनेछ । मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । फागुन ५ गतेदेखि सुरु हुने अढैया शनिले स्वास्थ्यमा वाधा, लेनदेनमा विवाद बढाउने योग भए पनि साउन २२ देखि पुस २९ सम्म, फागुन २१ देखि सालभर पञ्चम गुरुको अनुकूलताले समय तपाइँको पक्षमा रहनेछ ।
आँटेका काम सजिलै बन्नेछन्, विद्यार्थी पढाइमा प्रगति गर्दै छात्रवृत्ति प्राप्त गरी स्वदेश वा विदेशमा पढ्ने अवसर मिल्नेछ । लेखक र साहित्यकार बौद्घिक वर्गका लागि पनि यो समय अति नै बलवान् रहनेछ । राजनीतिकर्मीहरू आफूले गुमाएको पद प्रतिष्ठा पुनस्र्थापित गर्नेछन् । किसान वर्गको कृषि उत्पादन राम्रो हुनेछ । व्यापारीहरूले व्यापारमा प्रशस्त लाभ उठाउनेछन्, सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्नेछन् ।
नयाँ प्रेम हुने र पुराना प्रेमहरू वैवाहिक बन्धनमा बाँधिने योग छ । महत्त्वपूर्ण कामहरू यसै समयमा गर्नु होला । साउन, कात्तिक, चैत महिना बलवान् रहने र वैशाख, पुस कमजोर हुने अन्य महिनाहरू मध्यम रहनेछ । ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः’ मन्त्रको जप वर्षभरि नै गर्नु राम्रो हुनेछ ।

मिथुन

समष्टिमा यो वर्ष राम्रो छ । तृतीय राहु र गुरुले पराक्रम वृद्घि गर्नेछ भने छैटौं शनिले शत्रु निवारण गर्नेछ । आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ कामका अवसर पनि धेरै आउनेछन् । नोकरीमा पदोन्नति हुनुका साथै लाभप्रद स्थानमा स्थानान्तरण हुनेछ । राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ । सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्नुका साथै राष्ट्रिय सम्मानसमेत प्राप्त हुने सम्भावना छ ।
विशेषगरी स्वास्थ्यसम्बन्धी अध्येतालाई अनुकूल समय जुरेको छ । उनीहरूले विशेष छात्रवृत्ति प्राप्त गरी स्वदेश विदेशमा अध्ययनका अवसर मिल्ने देखिन्छ । अन्य विषयका विद्यार्थीलाई सुअवसर मिल्ने र विदेश बसोवास गर्ने प्रयासमा भए सजिलै सफलता प्राप्त हुनेछ । बौद्घिक कार्यको उच्च मूल्यांकन राज्यबाट हुने योग छ ।
स्वदेशी व्यापार र वैदेशिक व्यापारमा लाभ मिल्नुका साथै कृषि, पशुपालन विशेष दूध तथा फलफूल उत्पादकका लागि यो वर्ष बलियो देखिन्छ । कलाकारहरूमा नाट्यकार, सिनेकर्मी र निर्माताहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । घरघडेरी तथा सवारी साधन जोड्नका लागि समय राम्रो छ । मित्र तथा परिवारबाट सोचेजस्तै सहयोग पाउने योग छ । साउन २३ देखि पुस २९ सम्म र फागुन २२ देखिको समय प्रतिकूल हुनेछ ।
घरेलु समस्या अलि बढ्नेछ । मित्रहरूले साथ नदिने सम्भावना उत्तिकै देखिन्छ । पतिपत्नीबीचको सम्बन्धमा ह्रास आउनेछ । मनमा द्विविधा बढ्न थाल्नेछन् । यो समय अलि सचेत रहनुहोला । वैशाख, भदौ, मंसिर महिना शुभ रहनेछ । जेठ, माघ अशुभ रहनेछन् र अन्य महिना मध्यम देखिन्छन् ।

कर्कट

ग्रह गोचरले वर्षभरि नै साथ दिनेछ । द्वितीय गुरुले पराक्रमको गति बढाउँछ । बोलीको प्रभाव बढाउने हुँदा ठूला व्यक्तिहरूसँग संवाद गर्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा लाग्नेहरूका लागि समय अनुकूल रहनेछ ।
कानुन व्यवसायीहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । पत्रकार, ज्योतिषी, चिकित्सक, सैन्य पेसाकर्मीहरूका लागि वर्ष निकै फलदायी रहनेछ । धार्मिक व्यक्तिहरूले धार्मिक र सामाजिक कार्यमा ऐतिहासिक सफलता हासिल गर्नेछन् । तीर्थयात्राको अवसर पनि मिल्नेछ, वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ ।
व्यापारमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउनसम्म सफल हुनुहोला । आम्दानीको नयाँ स्रोत हात पार्न सकिनेछ । घरघरेडी तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाइमा सफलता पाउन अलि परि श्रम गर्नुपर्ला, सन्तानहरूसँग विमति बढ्न सक्छ । शत्रुसितको प्रतिस्पर्धामा ऐतिहासिक विजय हासिल गर्दै निरन्तर अगाडि बढ्न सकिनेछ ।
विछोड भएको प्रेमबन्धन पुनः बाँधिने योग छ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुका साथै विछोड भएको छ भने पुनर्मिलन हुनेछ । जेठ, असोज, पुस शुभ महिना हुन् भने असार, फागुन अशुभ र अन्य महिना मध्यम रहनेछन् । महत्त्वपूर्ण कामहरू शुभ महिनामा गरे बढी लाभ लिन सकिन्छ ।

सिंह

यो वर्षको ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा अढैया शनि र राशिको गुरु तथा राहु, चतुर्थ मंगल र अष्टम शुक्रको प्रतिकूल प्रभाव रहेकाले समय प्रतिकूल रहनेछ । कुरा काट्नेहरू, झूटा आरोप लगाउनेहरू निकै सक्रिय रहनेछन् ।
आफूले गरेको सही कार्यलाई समेत गलत सावित गराउन शत्रुहरू लागिपर्नेछन् । मनमा चिन्ताले दरिलो डेरा जमाउनेछ । दाँतमुखमा पीडा हुनुका साथै अनावश्यक विवादको सामना पनि गर्नुपर्नेछ । घर झगडा तीव्र भई घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ ।
परिवारहरू पनि विना कारण टाढिनेछन् । मित्रहरूलाई आफूले सहयोग धेरै गर्नुपर्ने बाध्यता तथा आफूले सहयोग नपाउने लक्षण पनि उत्तिकै देखिन्छ । साउन २३ गतेपछि समयमा धेरै सुधार आउनेछ । द्वितीय गुरुले बोलीको प्रभाव बढाउनुका साथै अरूलाई विश्वासमा लिएर अघि बढ्न सकिनेछ ।
पढाइमा सुधार आउनेछ । बौद्घिक कार्यमा अघि बढ्ने अवसर मिल्नेछ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्घि हुनुका साथै मित्रहरूसँग सम्बन्ध सुधार्ने अवसर पनि मिल्नेछ । ठूला व्यक्तिहरूको सान्निध्यता प्राप्त भई आफूनिकट समस्या किनारा लगाउन सकिनेछ ।
सन्तानहरूको उन्नति एवं उहीहरूसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । फागुन ५ गतेदेखि अढैया शनिको प्रभाव सकिने भएकाले समय अझ बलियो हुनेछ । असार, कात्तिक र माघ महिना शुभ महिनामा पर्दछ भने साउन र चैत महिना अशुभमा पर्दछन् । ॐ हँ हनुमते रुद्रात्मकाय हँ फट यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।

कन्या

समष्टिमा यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा बह्रौको राहु तथा गुरुको प्रतिकूलताले उच्च रक्त श्राव बढ्ने भएकाले मन विचलित हुनेछ । मुटु, मस्तिष्कमा पीडा हुनेछ । दुःस्वप्नहरू देखिने, राम्रोसँग निद्रा नपर्ने र स्वास्थ्य गडबड हुने योग छ ।
मित्र तथा परिवारहरूको समस्यामा श्रम, समय र पैसा सबै लगाउनुपर्ने तर जस भने नमिल्ने भएकाले मनको अशान्ति अरू बढ्नेछ । धेरै समय अरूको काम गरेर बित्नेछ । आफूलाई उपयोग गर्नेहरू धेरै हुनेछन् । पतिपत्नीबीच बुझाइको कमीले मतभेद बढ्नेछ ।
फागुन ६ गतेदेखि अढैया शनिले प्रवेश गर्नेछ । घरेलु समस्याले सताउनुका साथै मित्रहरूसँग विवाद हुने, शत्रुले आक्रमण गर्ने, झूटा आरोप–प्रत्यारोप लाग्ने भएकाले सकेसम्म थोरै बोल्नु उचित हुनेछ । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु नै बुद्धिमानी होला ।
साउन २३ देखि फागुन ४ गतेसम्म समय बलियो छ । पराक्रमको गति तीव्र हुनुका साथै आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ काम पाउने, अधुरा काम पूरा हुने तथा परिवारिक समस्या क्रमशः घटेर जाने योग छ । पढाइमा रुचि बढ्ने, सफलताले खुसी मिल्ने, बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ ।
व्यापारमा प्रगति हुनुका साथै स्वदेश तथा विदेशका व्यावसायिक र राजनीतिक यात्राको बलियो सम्भावना छ । पतिपत्नीबीच धमिलिएको सम्बन्ध पूर्णरूपमा संग्लिनेछ । बोलीको प्रभावले राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिलाई प्रभाव पार्दै आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । पहिलो भेटमै प्रेमको बन्धन बाँधिने योग छ । साउन, मंसिर र फागुन महिना शुभ फल दिने खालका छन् भने वैशाख, भदौ अशुभ फल दिने महिना हुन्, अरू महिना मध्यम रहनेछन् । ॐ गौरा माता भूव स्यातै स्वहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

तुला

वर्षको ग्रहगोचर त्यति नराम्रो छैन । सुरुमा गुरुको र राहुको गोचर एकादश स्थानमा भएकाले आर्थिक उन्नति प्रशस्तै हुनेछ । छात्रवृद्घि प्राप्त गरी स्वदेश वा विदेशमा गएर अध्ययन गरी सफलता हासिल गर्नुका साथै बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ ।
पराक्रम तीव्र हुनुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योगछ । शत्रुसँगको प्रतिस्पर्धामा आफ्नो जित सुनिश्चित हुनेछ । नोकारीमा गोपनीयताका साथ अघि बढ्दा सोचेजस्तै सफलता हासिल गर्न सकिनेछ । राजनीतिमा आफ्नो वर्चश्व कायम राख्न पनि गोपनीयता नै अपनाउनु पर्ला ।
व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेशयात्राको अवसर मिल्नेछ । वैदेशिक व्यापारमा प्रवेश गर्ने अवसर मिल्नेछ । फागुन ६ देखि शनि शाढे सात हट्ने भएकाले मित्रहरू र परिवारको सहयोगमा सुधार आउनेछ । उच्च मनोबलका साथ अघि बढ्दा महत्त्वपूर्ण सफलता हासिल गर्न सकिनेछ ।
साउन २३ गतेदेखि फागुन ५ सम्म बाह्रौं गुरु र द्वितीय शनिको प्रतिकूलताले खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने, झूटा मुद्दामा फसाउने प्रयास गर्नेछन् । नोकरीमा आर्थिक हिनामिनाको आरोप लाग्ने सम्भावना छ । दाँत–मुखमा पीडा हुनुका साथै अरूबाट हुने तीव्र आलोचनाले मनोबल घट्नेछ ।
बोल्दा होस पुर्‌याउनुहोला । धनमाल चोरी हुनसक्ने भएकाले आफूलाई चनाखो राख्नुहोला । भदौ, पुस, चैत महिना राम्रो रहने र जेठ, असोज नराम्रो महिनामा पर्दछ अरू महिनाहरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।

वृश्चिक

यो वर्षको ग्रहगोचर यस प्रकार रहनेछ । मध्य साढे सातीको प्रभाव वर्षभरि नै कायम रहनेछ । जसले गर्दा हाडजोर्नी दुःख्ने, सेवकहरूबाट असहयोग हुने, निद्रा कम लाग्ने र जिउ पोल्ने समस्याले प्रशस्त मात्रामा सताउनेछ ।
केन्द्रादि दोषसहित गुरु चण्डाल योग बनाएर दशम स्थानमा बसेकाले पितालाई हानि पुर्‌याउनुका साथै आफ्नो मानप्रतिष्ठामा आँच आउनेछ । आफूले बोलेर आफैँ अप्ठ्यारोमा परिनेछ । धनमाल चोरी हुनसक्ने भएको आफूलाई सधैँ चनाखो राख्नुपर्ला । नोकारीमा बुद्घि नपुर्‌याएमा पदमुक्त हुने सम्भावनाका साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ ।
सामाजिक कार्यमा समय, श्रम र द्रव्य लगाएर पनि आलोचित हुनुपर्नेछ । घरेलु समस्या बढ्दै जाँदा संयमित नभएमा घरै छोड्ने स्थिति आउन सक्नेछ । मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन् । विश्वास धेरै गरियो भने धोका हुन सक्छ ।
आर्थिक कारोबार ध्यान नदिए ठूलै धनराशि फस्न सक्छ । साउन २३ गतेदेखि पुस २९ सम्म, फागुन २२ देखि यो वर्षभर गुरुको अनुकूलताले बोलीको प्रभाव सकारात्मक हुनुका साथै मनोबल पनि बढ्नेछ । अरूलाई विश्वास दिलाउन पनि सकिनेछ । पढाइमा तीव्रता आउनुका साथै बौद्घिक कार्यमा सफलता सोचेजस्तै मिल्नेछ । आम्दानीको स्रोत पर्याप्त फेला पर्नेछन् ।
सन्तानहरूको प्रगति र उनीहरूसँगको सम्बन्धमा अपेक्षित सुधार आउनेछ । वैशाख, असोज, माघ महिना शुभ रहनेछ । असार, कात्तिक अशुभ अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गण पतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

धनु

यो राशिलाई भाग्य भावमा रहेको गुरु, चतुर्थ भावमा रहेको उच्च शुक्र तथा पञ्चमा परेको बुधादित्य योग बलियो भएकोले मित्र तथा परिवारको सहयोग मिल्ने छ । बौद्घिक कार्यले मनोबल बढ्नुको साथै घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ ।
भुलेका मित्रहरूले पुनः याद गर्नेछन् । नयाँ मित्रको आगमनले कामकारबाहीमा अघि बढ्न सजिलो हुनेछ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेश यात्राको योग पनि बलियो छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक चर्चा पनि अघि बढ्नेछ ।
भाग्य बलियो भएकोले नोकरीमा पदोन्नति र इच्छाअनुसार स्थानान्तरण पनि हुनेछ । सामाजिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालन फलफूल आदि उत्पादकका लागि समय अनुकूल रहे पनि साउन २३ देखि पुस २९ सम्म, माघ १ देखि फागुन २१ सम्म भने वर्षभरि रहने शनि साढे सातीको प्रभाव गुरुको प्रतिकूलताका कारण सबै काम खर्चिला र विवादयुक्त हुनेछन् ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् । धनमाल हराउने बढी सम्भावना छ । कामको बीचमा प्रशस्त विघ्नबाधाको सामना गर्नुपर्नेछ । सेवकहरूबाट धोका हुने, दाजु–भाइहरूबीच द्वन्द्व हुने, हड्डी कमजोर हुनुका साथै शरीरमा शिथिलताले दरिलो डेरा जमाउनेछ । पढाइमा अवरोध आउनुका साथै उचित समयमा बुद्घिले काम नगर्दा आफूले गरेको निर्णय आफ्नै लागि हानिकारक बन्नेछन् ।
जेठ, कात्तिक, फागुन महिना राम्रो रहनेछ भने साउन र मार्ग महिना खराब रहनेछ, अरू महिना मध्यम रहनेछ । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

मकर

यो राशिको लागि वर्षारम्भ भने खासै अनुकूल देखिन्न । वर्षारम्भमा एकादश शनि, मंगल र तृतीय उच्च शुक्रको अनुकूल प्रभाव रहे पनि आठौँमा गुरु चण्डाल योग बनाएर बसेका गुरु तथा राहुको प्रतिकूलताले स्वास्थ्य निकै कमजोर बनाउनेछ । विशेष मिर्गौलामा ध्यान दिनुहोला ।
आर्थिक कारोबार पटक्कै नगर्नु होला । अनावश्यक विवाद र फजुल खर्चले तनाव निकै बढ्नेछ । कामका बीचमा प्रशस्तै अवरोध आउनेछन् । दाजुभाइसँगको सम्बन्ध पनि बिग्रनेछ । सेवकहरू छन् भने उनीहरूले पनि धोका दिनेछन् । परम मित्रहरूले पनि शत्रुसँग तपाईंविरुद्घ हातेमालो गर्नेछन् ।
सवारीले पनि बेलाबेलामा धोका दिनेछ । नशाहरू कमजोर भई शरीरमा शिथिलता धेरै बढ्नेछ । आगामी फागुन ६ गतेदेखि साढे साती शनिको आरम्भ हुनेछ । पेटको रोग, मुटु–मस्तिष्कमा केही असजिलो महसुस हुने योग भए पनि साउन २३ देखि गुरुको अनुकूलताले भाग्य बलियो बनाउनुका साथै धार्मिक कार्य र सामाजिक कार्यमा ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ । पराक्रमको गति तीव्र हुनेछ ।
सानै प्रयासले महत्त्वपूर्ण र ऐतिहासिक काम गर्न सफल भइनेछ । व्यापारमा लाभ मिल्नुको साथै यात्रा गर्ने अवसर पनि मिल्नेछ । नोकरीमा प्रगति हुनुका साथै नयाँ कामको अवसर पनि मिल्नेछ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल हुनुहोला ।
कूटनीतिक क्षेत्रमा राष्ट्रको जिम्मेवारी पूरा गर्न सफल भई अन्तर्राष्ट्रिय सम्मान पाउने बलियो सम्भावना छ । पढाइमा सोचेजस्तै सफलता मिल्नेछ, लेखन मार्गमा ऐतिहासिक सफलता प्राप्त होला । असार, मार्ग र चैत महिना राम्रो रहनेछन् भने भदौ र पुस महिना नराम्रो हुनेछ, अरू महिना मध्यम छन् । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

कुम्भ

वर्षको ग्रह गोचर समष्टिमा राम्रै रहनेछ । वर्षारम्भमा सप्तम गुरु, द्वितीयमा उच्च शुक्र, तृतीय उच्च सूर्य र बुधको अनुकूताले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । सानै प्रयासले पनि ठूला काममा सफलता हासिल गर्न सकिनेछ ।
तपाईंको लगनशीलता र इमानदारीको समाज र राज्य दुवै पक्षबाट उचित मूल्यांकन हुनेछ । सेवकहरूबाट राम्रो सेवा पाउने र दाजुभाइहरूले समेत सहयोग गर्ने भएकाले महत्त्वपूर्ण काम अघि बढाउन सकिनेछ । बोलीको प्रभावमा धेरै काम बनाउन सकिनेछ ।
शब्दकै आधारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तिलाई आफ्नो पक्षमा पार्न सफल हुँदा मनोबल बढ्नेछ । कानुन व्यवसायी, ज्योतिष, वकिल, पत्रकार, शिक्षक, राजनेता, राजनीतिकर्मी र स्वास्थ्यकर्मीहरूले ऐतिहासिक सफलता प्राप्त गर्नेछन् । आयात–निर्यातको व्यापारमा राम्रो सफलता हासिल गर्न सकिनेछ । देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर मिल्नेछ ।
प्रेममा सफलता मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने सम्भावना पनि बलियो छ । घरघरेडी जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त होला । सवारी साधनको बन्दोबस्त पनि हुनेछ । नोकरीमा सबै समस्यालाई पार गर्दै आफ्नो लक्ष्यमा पुग्ने प्रयास पनि सफल हुने देखिन्छ । साउन २३ देखि पुस २९ सम्म गुरुको प्रतिकूलताले स्वास्थ्यमा बाधा, मनमा चिन्ता, काममा अवरोध आउनेछ ।
लेनदेनमा विवाद बढ्ने, अरूले कुरा काट्ने भएकाले गोपनीयतामा जोड् दिनुहोला । सकेसम्म आर्थिक कारोबारमा अघि नबढ्नु राम्रो हुनेछ । वैशाख, साउन, पुस महिना शुभ रहनेछन् भने असोज र माघ अशुभ रहनेछन्, बाँकी महिना मध्यम रहनेछन् ।

मीन

वर्षका ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा बसेको दशमेश राशि स्वामी गुरु तथा द्वितीया सूर्य, नवम भावमा रहेको शनि तथा मंगलले विवाद बढाउने, शत्रु बढाउने र रोग बढाउने काम गर्नेछ ।
नोकरीमा संकट आउनुका साथै राजनीतिमा पाएको सुविधा गुमाउनुपर्नेछ । विश्वास गरेकाहरूबाट धोका हुनेछ, घरेलु समस्याले सताउनेछ । मित्र तथा परिवारजनहरूका समस्यामा समय, श्रम, द्रव्यसमेत खर्च गरेर पनि अपजशको भागीदार हुनुपर्ला ।
सोच्ने शक्तिमा कमी आउनाले, समयमा निर्णय नहुने, समयमा निर्णय नहुँदा महत्त्वपूर्ण काम बिग्रनेछ । विश्वासमा धोका हँदा प्रतिष्ठामा आँच आउने, राजनीतिमा ठूलो समस्या आउनेछ । नोकारीमा एकपछि अर्को गर्दै धेरै समस्याको सामना गर्नुपर्नेछ । आफ्ना लगानीमा अरूले फाइदा उठाउने योग भए पनि २३ साउनदेखि बोलिको प्रभाव बढ्ने, मनोबल बढ्नेछ ।
ठूला व्यक्तिसँग अन्तरक्रिया हुने, राज्यले सम्मान गर्ने, रोकिएका कामहरू अगाडि बढ्नेछ । व्यापारमा सफलता मिल्ने, स्वदेश र विदेशको यात्रा हुने योग छ । नोकरीमा सबै समस्या पार गर्दै सफलताको मार्गमा उभिन सफल हुने, राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । पढ्नका लागि छात्रवृत्ति र स्थानान्तरणको लागि विदेश यात्राको योग छ । आम्दानीका स्रोत पर्याप्त हात पर्ने योग छ । सामाजिक र राजनीतिमा आफूप्रति रहेको अविश्वास हटाउँदै अरूप्रति विश्वासी भई प्रस्तुत हुन सफल हुनेछ । प्रेम गर्ने अवसर मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने प्रबल सम्भावना छ । जेठ, भदौ, माघ शुभ महिना हुन् भने कात्तिक, फागुन अशुभ महिना र अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला । – ओजराज लोहनी अन्नपुर्ण दैनिकवाट

प्रतिक्रियाहरु