अदालतमै ग्रिनेड विस्फोट

२०७३ बैशाख १ गते, बुधबार

काठमाडौं, १ वैशाख । पाकिस्तानको एक अदालतमा अचम्मको घटना भएको छ । न्यायाधीशले ग्रिनेड कसरी विस्फोट हुन्छ भन्ने जिज्ञासा राखेपछि प्रहरीले विस्फोट गराउने तरिका अदालतमै प्रस्तुत गर्ने क्रममा विस्फोट हुँदा न्यायाधीशसमेत केही घाइते भएका छन् ।
कराँचीस्थित आतंकवाद निरोधी अदालतमा यस्तो घटना भएको हो । समाचार एजेन्सीहरुका अनुसार अदालतमा एक आरोपीलाई पेश गरिएको थियो । उसका साथबाट बरामद भएका हतियार र विस्फोटक पदार्थ पनि सुरक्षाकर्मीले अदालतमा पेश गरेका थिए । यसरी पेश गरिएका विस्फोटक पदार्थमा एउटा ग्रिनेड पनि थियो ।
न्यायाधीशले ग्रिनेड कसरी पड्किन्छ भन्नेबारे जिज्ञासा राखेका थिए । एक प्रहरीले तत्कालै ‘म भन्छु’ भन्दै ग्रिनेडको पिन निकालिदिएका थिए । लगत्तै ठूलो आवाजका साथ विस्फोट भएको थियो । विस्फोट हुँदा न्यायाधीश आफ्नो कुर्सीबाट उछिट्टीएर तल झरेका थिए । अदालतमा रहेका केही मानिस घाइते भएको बताइएको छ ।

प्रतिक्रियाहरु