प्रहरीसँग दोहोरो झडप, एमाले नेता राईसहित दुई घाइते

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौं, २३ चैत । प्रहरीसँगको दोहोरो झडपमा नेकपा (एमाले) खोटाङ काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते हुनुभएको छ ।
एमाले खोटाङको नेतृत्वमा आज यहाँस्थित सडक विभाग कार्यालयमा धर्ना दिइरहेको अवस्थामा उक्त घटना भएको खोटाङ– २ नम्बर क्षेत्रका सांसद एवम् एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले बताउनुभयो । अढाइ वर्ष पहिले फोक्सिङटार–सुनकोसी पुल निर्माण सम्झौता भए पनि हालसम्म काम नै सुरुआत नगरिएकाले छिटो काम गर्न दबाब दिने उद्देश्यले धर्ना दिँदा झडप भएको थियो ।
त्यही क्षेत्रमा पर्ने जयरामघाट दूधकोसी नदीमा समेत आठ वर्षअघि पुल निर्माण गर्ने सम्झौता भए पनि हालसम्म खम्बा मात्र उठाउने कार्य भएकाले छिटो काम सम्पन्न गराउने उद्देश्यले कार्यालयमा धर्ना दिनुपरेको हो–भट्टराईले भन्नुभयो ।
कार्यालय प्राङ्गणमा प्रदर्शनकारी आएर कर्मचारीमाथि हातपात गरेपछि नियन्त्रणमा लिने क्रममा उपाध्यक्ष राई सामान्य घाइते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता किसनसिंह थापाले जिकिर गर्नुभयो । प्रदर्शनकारीबाट कार्यालयकै प्राङ्गणमा कर्मचारीमाथि गरिएको आक्रमणमा परेर विभागका कर्मचारी जयराम थापा घाइते भएको प्रवक्ता थापाले बताउनुभयो ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु