बलात्कारको क्षतिपुर्ति १२ सय किलो गहुँ !

२०७२ चैत्र २२ गते, सोमबार

काठमाडौ, २२ चैत । पाकिस्तानमा सामूहिक बलात्कारको शिकार बनेकी एक १४ वर्षीया किशोरीलाई स्थानीय भद्रभलादमीले १२ सय किलो गहुँ दिएर मिलाएका छन् । घटना पाकिस्तानको सिन्ध सुबेस्थित उमरकोट जिल्ला गुलाम नबी खान क्षेत्रको हो । केही दिनअघि १२ वर्षीया पीडितका भाइ प्रहरी चौकरीका उजुरी दिएका थिए । उजुरी दिएलगत्तै पीडक पक्षले पीडित पक्षलाई दबाव दिइरहेको थियो ।
पीडितका पिताका अनुसार बलात्कारको घटना चौकीमा दर्ता र आरोपी पक्राउपछि घटनालाई स्थानीय कमिटि ‘जिरगा’ मै मिलाउने दबाव दिइयो । जिरगा स्थानीय भद्रभलादमीले चलाउने अदालत हो ।
पीडित परिवारका अनुसार मुद्दाको सुनुवाई स्थानीयको सहभागितामा भयो । त्यस क्रममा १२ सय किलो गहुँ पीडित पक्षलाई दिने सर्तमा मुद्दाको छिनोफानो गरियो । पीडितका पिताका अनुसार स्थानीय संचार माध्यममा घटना सार्वजनिक भएपछि गुण्डागर्दी शैलीमा चुपचाप रहन धम्की दिइयो । जिरगाले उनीहरुलाई मुद्दा फिर्ता लिन दबाव दिनुका साथै यदि क्षतिपुर्ति स्वीकार नगरे गाउँ छाडेर जान चेतावनीसमेत दिइयो ।
यसैबीच मीरपुरका विशेष डीआईजी जावेद आलमले एसपीलाई घटनाको छानविन गर्न र पीडित परिवारलाई सुरक्षा दिन निर्देशन दिएका छन् । जावेद आलमले आफूलाई कुनै जिरगाको बैठकबारे जानकारी नभएको बताए । पाकिस्तानको अदालतले जिरगालाई गैरकानुनी घोषणा गरिसकेको छ। यद्यपि ग्रामीण क्षेत्रमा यस्ता अदालत अहिले पनि चलिरहेको बताइन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु