एक करोड दश लाख गोप्य दस्तावेज सार्बजनिक

२०७२ चैत्र २२ गते, सोमबार

काठमाडौं, २२ चैत । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएको छ । जसमार्फत् धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ । उनीहरुले आफू र आफनो कम्पनीबाट कमभन्दा कम कर तिर्न कस्ता कस्ता शैली अपनाउँदा रहेछन् भन्ने पनि खुलासा भएको छ ।
दस्तावेज लिक भएसँगै मोसाक फोन्सेकाले आफ्ना ग्राहकको काला धन वैध बनाउने, प्रतिबन्धबाट बच्ने तथा कर चोरीमा कसरी मद्दत गर्ने रहेछ भन्ने खुलेको छ ।
करिब ४० वर्षदेखि बिना शंका यस्तो काम गरिरहेको कम्पनीले जनाएको छ । ७२ जना वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष यस प्रकरणमा कम्पनीसँग जोडिएको पनि खुलेको छ । जसमा पूर्व तानाशाहसमेत संलग्न छन् ।
जर्मन अखबार जूटडायच ट्सायटून्गले प्राप्त गरेको यस दस्तावेज इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टीगेटीभ जर्नालिष्ट, आईसीआईजे मार्फत् सार्वजनिक गरिएको हो ।
तर यस दस्तावेज दिने सूत्र को हो भन्ने आफूहरुलाई थाहा नभएको बीबीसीले जनाएको छ । आईसीआईजेका निर्देशक गेरार्ड राइलले भने दस्तावेजमा मोसाक फोन्सेकाको प्रत्येक दिनको गतिविधि उल्लेख रहेको जनाएका छन् ।
दस्तावेजमा पूर्व शासकहरु इजिप्टका होस्नी मुबारक, लीबियाका मुअम्मर गद्दाफी र सीरियाका राष्ट्रपति बहर अल अशदका परिवार र उनका सहयोगीसँग जोडिएका कम्पनीको गोप्य जानकारी पनि उल्लेख छ ।
दस्तावेजमार्फतै अरबौं डलरको अपचलन गर्ने संन्दिग्ध एक गिरोहको बारेमा पनि पत्ता लागेको छ । जसको सम्बन्ध रुसको एक बैंकसँग रहेको तथा त्यसमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी पनि जोडिएका छन् ।
पुटिनकी छोरीको गडफादरझै मानिने उक्त व्यक्ति सर्गेई रोल्डूगिन रहेको बताइएको छ । दस्तावेजमा आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गुनलान्गसानको नाम पनि एक गोप्य विदेशी कम्पनीमा करोडौं डलर लगानी गरेको भनि जोडिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु