बिस्केट जात्राको तयारी सुरु

२०७२ चैत्र २१ गते, आईतवार

काठमाडौँ, २१ चैत । भक्तपुर नगरपालिकाले यसवर्षको बिस्केट जात्राका लागि भूकम्प पीडितको अस्थायी शिविर हटाइएको छ । भक्तपुर नगरपालिकाको ल्यासिंखेल स्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्प पीडितलाई अन्यत्रै सारिएको हो । लिङ्गो उठाउने ठाउँमा बस्दै आएका झण्डै ६० घर परिवार भूकम्प पीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरुलाई अन्यत्र सारिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । उनले भने ‘भूकम्प पीडितलाई नसारे जात्रा नै रोकिने भएपछि तत्कालका लागि अन्यत्र सारेर त्यो ठाउँ खाली गराइएको छ । अब जात्रा सञ्चालन गर्न सकिन्छ ।’ भूकम्प पीडितलाई अन्यत्र सारेएपछि प्रहरी र स्थानीय बासिन्दाले त्यस क्षेत्रको सरसफाई गरेका छन् ।
चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि आवश्यक ठाउँ खाली गरिएपछि आइतबार सरसफाई गरिएको हो । जात्रामा पहिलो दिन मुख्यत भैरबको रथ तान्ने गरिन्छ । चैत ३० गते लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा गरेर बेलुका लिङ्गो ढालिन्छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा वैशाख ५ गते भैरबको रथ तानेर समापन गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु