नङ टोक्ने बानीले घृणाको पात्र बन्न सक्छ

२०७२ चैत्र २० गते, शनिबार

काठमाडौँं । केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ । यस्तै खराब स्वभाव हो नङ टोक्ने । यो साझा र निकै फोहोरी बानी हो । तैपनि मानिसले नङ टोक्न छाडेका छैनन् । आखिर किन यस्तो भइरहेको छ त ? यसबारे मनोविज्ञहरु आआफ्ना तर्क गर्छन् । एक विज्ञका अनुसार मानिसले अत्यधिक नकारात्मक सोच आयो भने नङ टोक्छ । तनाव र चिन्तालाई व्यवस्थापन गर्ने हो भने मानिसले यस समस्याबाट मुक्त पाउन सक्छ । गहिरो पीडा सहन नसकेपछि मानिसले आफ्नै अंगसँग प्रतिक्रिया जनाउने क्रममा नङ टोक्ने हर्टफोर्डसाइर युनिर्भसिटीका प्राध्यापक करिन पाइन बताउँछन् ।‘नङ टोक्नु अप्रिय समाचार वा घटना वा वातावरणको प्रारम्भिक रेस्पोन्स हो । प्रारम्भिक रुपमा यसले आवेगलाई नियन्त्रण पनि गर्छ,’ करिन भन्छन्, ‘कोही मानिसमा कपालका रौं उखेल्ने वा छाला तान्ने समस्या छ भने त्यो व्यक्ति अत्यधिक तनावमा छ भन्ने बुझ्दा हुन्छ ।’
त्यसो भए नङ टोक्ने सबै मानिस चिन्तित हुन् त ? चिन्ता नै नहुने बालबालिकाले किन टोक्छन् त ? करिनको तर्कपछि यस्तै तर्क उब्जिन थालेका छन् । केही विज्ञहरुका अनुसार नङ टोक्ने, कपालका रौं तान्ने, छाला उखेल्ने वा आफ्ना औंला टोक्ने, नाक कोट्याउने मानिसको बानी वा आचरण हो । कोही भने यसलाई पूर्ण रुपमा सन्की र सूक्ष्म मानसिक असन्तुलनको संज्ञा दिन्छन् । जे भए तापनि सबै विज्ञहरु तनावकै कारण नङ टोक्ने लगायतका अस्वाभाविक बानी प्रदर्शन नहुने बताउँछन् । बरु यो अपूर्णताको संकेत भएको एक क्यानेडेली अध्ययनले दाबी गरेको छ । ‘बारम्बार यस्तो आचरण देखाउने मानिसले पूर्णतालाई अस्वीकार गरेका हुन्छन् । यसको अर्थ अरुलाई सामान्य लाग्ने घटना वा वातावरणमा पनि उनीहरु खुसी वा सन्तुष्ट हुन सक्दैनन्,’ मन्ट्रियल विश्वविद्यालयका प्राध्यापक किरोन ओ कनोर भन्छन्, ‘त्यस कारण आफ्नो उद्देश्य वा लक्ष्य पूरा नहुँदा उनीहरुमा हतासा, अधैर्य र असन्तोष हुने खतरा हुन्छ ।’ उनीहरुले सामान्य मानिसले भन्दा बढी दिक्क मान्ने पनि उनी बताउँछन् ।
यसबारे अन्य सिद्धान्तको पनि विकास भएको छ । अस्ट्रेलियाको नेसनल युनिर्भसिटीका मनोविज्ञ रिचार्ड ओ केइरनेका अनुसार छुवाइको भिन्दै अनुभूति वा ज्ञान हुने मानिसहरुले पनि नङ टोक्छन् । ‘नङ काट्ने झन्झट नगर्नेले पनि यस्तो बानी देखाउँछन्,’ उनी थप्छन् । नङ टोक्दा त्यसको असर सौन्दर्यमा पनि अवश्य पर्छ । नङ कुरुप देखिनुका साथै औंलाको सौन्र्दय नै हराउँछ । औंलाको टुप्पोबाट रगत पनि बग्छ । बारम्बार नङ टोक्ने आदत भएमा मनोविद् वा काउन्सिलरको सहयोग लिनुपर्ने चिकित्सकहरुको राय छ । – एजेन्सी

प्रतिक्रियाहरु