अल्छीलाई रोजगारीको अवसर

२०७२ चैत्र १९ गते, शुक्रबार

काठमाडौँ, १९ चैत । भारतको बेंग्लोरस्थित एक कम्पनीले त्यस्ता अल्छी मानिसलाई रोजगारीका लागि आवेदन दिन आह्वान गरेको छ, जो कुम्भकर्ण झैं सुतिरहन रुचाउँछ । ओछ्यान छाड्नै नचाहने व्यक्तिका लागि उक्त रोजगारीका लागि विशेष प्राथमिकता दिइने जनाइएको छ । अर्बन लेडर कम्पनीले अल्छीहरुका लागि रोजगारीको अवसर सिर्जना गरेको हो । आफूले उत्पादन गरेको म्याट्रेस (गद्दा) कति आरामदायी छ भन्ने परीक्षण गर्नका लागि सो कम्पनीले त्यस्ता अल्छीहरुलाई चयन गर्न लागेको हो, जो ओछ्यान छाड्न चाहँदैनन् । सो कम्पनीले ‘सिनियर म्याट्रेस टेस्टर’ पदका लागि आवेदन माग गरेको हो । दिनभर सुतेर उनीहरुले म्याट्रेस कति आरामदायी छ भन्ने अनुभवसहितको प्रतिवेदन कम्पनीलाई बुझाउनु पर्नेछ । त्यसबापत कम्पनीले आकर्षक पारिश्रमिक दिने जनाएको छ ।
लिंकडिन डट कममा विज्ञापन नै प्रकाशित गरेर अल्छीहरुलाई रोजगारीका लागि आह्वान गरिएको हो । उनीहरुले कफी पिएपछि गद्दामा सुत्दा कस्तो लाग्यो, लामो दुरीबाट आएपछि सुत्दा कस्तो अनुभव भयो लगायतका विभिन्न अवस्थामा आफूले गरेको अनुभव कम्पनीलाई बुझाउनु पर्नेछ । यसबाट कम्पनीले आफ्नो उत्पादनलाई थप परिस्कृत गर्न सकिने विश्वास लिएको छ ।
बिहीबार वेभसाईटमा प्रकाशित सो विज्ञापन शुक्रबार बिहानसम्म ११ हजार भन्दा बढीले हेरिसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु