साउदीमा सतासी कामदारको बिचल्ली

२०७२ चैत्र १८ गते, बिहीबार

काठमाडौं, १८ चैत । सम्झौताअनुसार काम र सेवा सुविधा नपाउँदा साउदी अरबमा ८७ जना नेपाली कामदार बिचल्लीमा परेका छन् ।
ललितपुरको कुपण्डोलस्थित ‘एसिई इम्प्लोयमेन्ट ब्यूरो प्रालि’ म्यानपावर कम्पनीमार्फत चार महिनाअघि साउदीको रियादमा रहेको ‘अलजिसेर अल अमल’कम्पनीमा आएका नेपाली कामदारहरु बिचल्लीमा परेका हुन् । सेवा सुविधा नपाएको गुनासो गर्दा उल्टै कम्पनीले विभिन्न किसिमका धम्की दिने गरेको पीडितले बताएका छन् ।
जुस उत्पादक कम्पनी भएकाले राम्रो कमाई हुने प्रलोभनमा पारेर ती कामदारलाई साउदी पठाइएको भए पनि अहिले उनीहरु बेरोजगार बनेका छन् । कमाइ नभएपछि उनीहरुलाई खानबस्न समेत मुश्किल भइरहेको छ ।
“सम्झौताअनुसार काम र तलब देउ, हैन भने स्वदेश फिर्ता पठाईदेउ भन्दा कम्पनीले सुनवाई गरेको छैन” बर्दियाका कर्णबहादुर शाहीले भन्नुभयो । नेपाली कामदारलाई सो कम्पनीले विभिन्न किकिमका धम्की दिने गरेको पीडितको भनाइ छ ।
म्यानपावर कम्पनीले उनीहरुलाई मासिक एकहजार ३०० साउदी रियाल कमाई हुने आश्वासन दिएको भए पनि हालसम्म ७०० रियाल मात्र पाएको पीडित कामदारले बताएका छन् । कामदारबाट कम्पनीले झुटो आश्वासन दिएर प्रतिव्यक्ति रु एक लाखदेखि रु एकलाख ३० हजारसम्म रकम असुलेको सप्तरीका दीपेन्द्र चौधरीले बताउनुभयो ।
“तीन महिनादेखि काम गर्न पाएका छैनौँ, स्वदेश फर्कन्छु भन्दा उल्टै कुटपिट गर्ने गरेका छन्” उहाँले भन्नुभयो । स्वदेश फर्कनका लगि २० हजार साउदी रियाल तिर्नुपर्ने अन्यथा स्वदेश फर्कन नदिने धम्की दिएको पीडित चौधरी बताउनुहुन्छ ।
कम्पनीले हालसम्म आवास अनुमतिपत्र उपलब्ध नगराउँदा नेपाली कामदारहरु गैरकानुनी रुपमा बस्न बाध्य छन् । “आवास अनुमतिपत्र नबनेकै कारण बीमासमेत हुन नसक्दा औषधि उपचारबाट वञ्चित छौँ” दाङ, तुलसीपुरका ताराप्रसाद चौधरीले भन्नुभयो ।
गैर आवासीय नेपाली सङ्घ साउदीका अध्यक्ष नारायण पासवान पीडित नेपाली कामदारको उद्धारका लागि दूतावासलाई आग्रह गर्दै आएको बताउनुहुन्छ । सरकारले खाडी मुलुक आउने कामदारका लागि ‘फ्रि भिसा फ्र टिकट’ लागु भएको जनाए पनि यहाँ आउने नेपाली कामदार भने लाखौँं रुपैयाँ तिर्न बाध्य भइरहेका छन् । उनीस्हरुले भनेअनुसारको काम र सेवा सुविधा पाउन नसक्दा थप समस्या झेल्नु परेको छ । – भरत प्रधान/रासस

प्रतिक्रियाहरु