अनुदानका शिक्षक छानबिनको दायरामा !

२०७२ चैत्र १७ गते, बुधबार

काठमाडौँ, १७ चैत । जिल्ला शिक्षा कार्यालय झापाले अनुदान कोटाअन्तर्गत उच्च माध्यमिक तहमा नियुक्त भएका सबै शिक्षकका विषयमा छानबिन सुरु गरेको छ । अनुदान कोटाका शिक्षकको नियुक्ति र अध्यापनका विषयमा चौतर्फी गुनासो आएपछि कार्यालयले छानबिन सुरु गरेको हो । अनुदान कोटामा नियुक्ति लिएका शिक्षकको विषयमा पटक–पटक प्रश्न उठेपछि छानबिन थालिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । शिक्षक अनुदान कोटामार्फत जिल्लामा १२४ जना शिक्षक नियुक्त गरिएका छन् । ‘एक साताभित्र टुङ्ग्याउने गरी छानबिन थालिएको छ’, जिशिअ लुइँटेलले भने– ‘नियुक्ति प्रक्रिया गलत र नियमित उपस्थिति नभेटिए नियमानुसार कारबाही हुन्छ ।’
सरकारले विज्ञान सङ्काय पढाउने उच्च माविलाई तीनवटाका दरले र अरू सङ्काय पढाउने उच्च माविलाई दुईवटाका दरले अनुदान कोटामा शिक्षक उपलब्ध गराउँदै आएको छ । झापामा सञ्चालित ६२ वटा उच्च माविले यो सुविधा प्राप्त गरेका छन् । तीमध्ये तीनवटा विद्यालयका शिक्षकले तोकिएको जिम्मेवारी पूरा नगरी तलब मात्रै बुझेको पाइएपछि कार्यालयले केही दिनअघि उनीहरूको नियुक्ति बदर गरेको थियो ।
नियुक्ति बदर गरिएकामा भद्रपुर उच्च माविका चैतन्यप्रसाद खरेल, सागर दाहाल र अरनिको उच्च मावि महेशपुरकी सिर्जना शर्मा छन् । खरेल नेपाली, दाहाल लेखा र शर्मा अङ्ग्रेजी विषयका शिक्षक हुन् । शिक्षा विभागले अनुदान कोटामा शिक्षक नियुक्ति गर्ने प्रावधानअनुसार उनीहरूले नियुक्ति लिएका थिए । खेताला शिक्षक राखेको पाइएपछि उनीहरूको नियुक्ति बदर गरिएको जिशिअ लुइँटेलले बताए । – रासस

प्रतिक्रियाहरु