आज विश्व क्षयरोग दिवस

२०७२ चैत्र ११ गते, बिहीबार

काठमाडौं, ११ चैत । आज विश्व क्षयरोग दिवस, ‘क्षयरोग अन्त्य गर्न सबै एक हौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ । तथ्याङ्क अनुसार नेपालमा ८० हजार जना क्षयरोग लागेका बिरामी छन् । नेपालमा हरेक वर्ष क्षयरोगका ४० हजार नयाँ बिरामी देखिने गरेका छन् । चेतना अभावका कारण कडा खालको संक्रमण देखिएका सबै विरामी उपचारको पहुँचमा भने अझै पुगेका छैनन् । यस्तै कडा खालको क्षयरोग लागेका झण्डै चार सय जना मात्र उपचारको पहुँचमा रहेका नेपाल क्षयरोग निवारण संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष देवेन्द्रबहादुर प्रधानका अनुसार एक हजार जनामा कडा खालको क्षयरोग लागेको अनुमान गरिएको छ । यस्तै उहाँले क्षयरोग लागेका कुल बिरामीमध्ये २० देखि २२ प्रतिशत बिरामी उपचारमा नआएका बताउनुभयो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई छिटो हुन्छ ।
क्षयरोग लागेका एक जनाले बेलैमा औषधि नखाँदा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सर्ने डाक्टरले बताएका छन् । लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिना साथ अस्पताल वा स्वास्थ्य संस्था जानु पर्छ । सरकारले क्षयरोग विरुद्धको औषधी निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
यस्तै नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम मार्फत देशभरी क्षयरोगीका लागि प्रत्यक्ष निगरानीमा गरिने डट्स विधीबाट पनि उपचार हुने गरेको छ । क्षयरोग लागेका बिरामीले डाक्टर तथा स्वास्थ्यकर्मीको निगरानीमा ६ देखि ८ महिनासम्म र कडा खालको क्षयरोगका विरामीले २४ महिनासम्म लगातार औषधि खानुपर्छ ।
नियमित औषधि खाए यो रोग निको हुन्छ । यो रोगको बेलैमा उपचार नगर्दा हरेक वर्ष ५ देखि ७ हजार बिरामीको ज्यान जाने गरेको सरकारी तथ्यांक छ ।

प्रतिक्रियाहरु