क्युबा र अमेरिका बीच मतभेद कायमै

२०७२ चैत्र ९ गते, मंगलवार

काठमाडौं, ९ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाको क्युबा भ्रमणले क्युबा र अमेरिका बीच सदियौंदेखि चिसिएको सम्बन्ध सुधारको प्रयास फलदायी नभएको विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा यी दुई नेताबीच मतभेद देखियो । क्यास्ट्रोले क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन खुला रुपमा आग्रह गर्दा ओबामाले भने यसको बचाउ गर्दै प्रतिबन्ध हटाउने नहटाउने भन्ने बिषय अमेरिकी काँगे्रसको काँधमा रहेको भन्दै क्युबाको भविष्य क्युबाकै जनतामा निर्भर हुने प्रतिक्रिया दिएर टारेको बताइन्छ ।
यता क्युबामा भइरहेको मानव अधिकार हननको बिषय गम्भीर भएकाले यसतर्फ राष्ट्रपतिको ध्यान केन्द्रित गरेकोमा क्यास्ट्रोले भने मानवअधिकारको रक्षा गरिरहेको जनाउ दिँदै नागरिक, राजनीतिक, सांस्कृतिक र सामाजिक अधिकार रक्षाका लागि लागि परेको बताउँदै यसमा कुनै कमी कमजोरी नभएको ठोकुवा गरे ।
यद्यपी क्यास्ट्रोले राजनीतिक बन्दी रिहाको बिषयमा ओबामाले राखेको जिज्ञासामा राजनीतिक बन्दीको सूची पेश गरेको खण्डमा बन्दी रिहा गर्ने बचन भने दिए । अमेरिकी इतिहाँसमा सन् १९५९ पछी कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको यो पहिलो क्युबा भ्रमण हो ।- एजेन्सी

प्रतिक्रियाहरु