राष्ट्रपति ओबामा क्यूवामा

२०७२ चैत्र ८ गते, सोमबार

काठमाडौं, ७ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामा ऐतिहासिक भ्रमणका क्रममा क्युबा पुगेका छन् । ओबामाको यो भ्रमणसँगै अमेरिकी इतिहासमा ८८ वर्ष यता अमेरिकी राष्ट्रपतिले क्यूवा भ्रमण गरेको यो पहिलो पटक हो । यसअघि सन् १९२८ मा तत्कालित अमेरिकी राष्ट्रपति केल्बिन कुलिजले क्युवाको भ्रमण गरेका थिए । अमेरिका र क्युबाबीच ब्यापार र राजनीतिक सम्बन्ध बिस्तारका लागि ओबामा क्युवा पुगेका हुन् । उनले क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । तर ओबामाले क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोसँग भने भेटवार्ता गर्ने कार्यक्रम छैन । फिडेलले लामो समय क्यूवालाई नेतृत्व गरेका थिए । उनको कार्यकालमा अमेरिका र र क्यूवाबीचको सम्बन्ध थप तिक्ततापूर्ण भएको थियो ।
ओबामाको स्वागतमा क्यूवा सरकारले विशेष भोजको आयोजनासमेत गर्दैछ । दुबै नेताले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भ्रमणकै क्रममा ओबामाले क्यूवाका विपक्षीहरुसँग पनि भेट गर्नेछन् ।
ओबामाको भ्रमणले क्युबा र अमेरिकाबीच दशकौंदेखि बिग्रिएको सम्बन्धमा नयाँ अध्याय थप्ने विश्वास दुबै देशको छ । अमेरिकाले ५४ वर्षदेखि क्युबामाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध अझै कायम छ । यस प्रतिबन्धलाई अमेरिकी कांग्रेसमा मतदान गरी टुंग्याउने तयारी अमेरिकाको छ । सन् १९५९ मा क्युवामा भएको क्रान्तिपछि दुई देशबीच चिसिएको सम्बन्ध सुधारको प्रयास दुई वर्षअघि भएको हो ।
यसैबीच ओबामाको भ्रमणअघि क्युवाको लेडिज इन ह्वाइट समूहका केही महिलाले क्युवामा राजनीतिक बन्दीको रिहाईको माग गर्दै राजधानी हवानामा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीहरुले बल प्रयोग गरी हटाएको अधिकारवादीहरुको भनाई छ । – एजेन्सी

प्रतिक्रियाहरु