राष्ट्रपति निर्वाचन गम्भिर मोडमा

२०७२ चैत्र ७ गते, आईतवार

काठमाडौं, ७ चैत । विश्वकै उन्नत प्रजातन्त्र मानिएको अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनका क्रममा अनेक खाले दृश्य देखिन थालेका छन् । राष्ट्रपति पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न समर्थन जुटाउनका लागि भएका प्रारम्भिक चरणकै मतदानका क्रममा प्रजातन्त्रको मूल्य मान्यताका लागि नसुहाउने हर्कतहरु हुन थालेका छन् । आफ्नै र अर्का पार्टीका उम्मेदवारबीच अवाञ्छित लाञ्छना लगाउनेदेखि समुदाय विशेषप्रति घृणा फैलाउनेसम्मका गतिविधि भइरहेका छन् । खासगरी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको होडमा अगाडी रहेका अरबपती डोनाल्ड ट्रम्पका गतिविधिका कारण अमेरिकी राष्ट्रपतीय निर्वाचन अफ्ठ्यारो मोडमा पुगेको स्वयं उनको आफ्नै पार्टीका नेताहरुले बताउन थालेका छन् ।
ट्रम्पको अभिव्यक्तिकै कारण ठाउँ ठाउँमा भीडन्तसमेत भइरहेका छन् । आफुलाई उम्मेदवार नबनाए दंगा फैलन जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएपछि रिपब्लिकन नेताहरु नै अफ्ठ्यारोमा पर्न थालेका हुन् ।
यसैक्रममा एरिजोनामा ट्रम्पविरुद्ध प्रदर्शन गरिएको छ । एरिजोना राज्यको फोनिक्सनजिक ट्रम्पको ¥याली गर्ने कार्यक्रम तय भएकामा केही प्रदर्शनकारीले ट्रम्पविरुद्ध प्रदर्शन गर्दै राजमार्ग नै अवरुद्ध गरेका हुन् ।
सडकमा उत्रेका करिब ५० जनाका कारण सडकमा ट्रासफक जाम भएको बताइएको छ । भीडलाई तितरबितर बनाउन प्रहरीले दर्जनौंलाई पक्रेको छ ।
ट्रम्पका समर्थकहरुले विरोध प्रदर्शनमा उत्रेकाको प्रतिकार गरेका छन् । र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नाविरुद्ध डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले षड्यन्त्र रच्न थालेको बताए । साता दिनअघि पनि शिकागोमा यस्तै विरोध भएपछि ट्रम्पले आफ्नो कार्यक्रम रद्ध गर्नु परेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु