निमोनियावाट बच्ने भए…. – भगवान कोइराला

२०७२ चैत्र ६ गते, शनिबार

निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वरयन्त्र अथवा ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वास नली र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली भनिन्छ ।
माथिल्लो स्वास नलीको संक्रमणहरूमा रुघा वा राइनिटिसस, पिनास वा साइनोसाइटिस, घाटी दुख्ने फ्यारिन्जाईटिस पर्दछन । तल्लो नलीको संक्रमणमा इपिग्लोटाइटिस, ल्यारिन्जाईटिस, ट्राकाईटिस अनि ब्रोंन्काइटिस पर्दछन् । यी सबै स्वासप्रस्वास प्रणाली अन्तरगतको नली वा ट्रयाकटका संक्रमण हुन् । भने फोक्सोमा वा फोक्सोको तन्तुमा हुने संक्रमणलाई निमोनिया भनिन्छ । बालबालिकालाई मृत्युको मुखमा पु¥याउने पाँच प्रमुख कारक रोगहरूमा निमोनिया अग्र स्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरूमा अहिले पनि उच्च छ । विश्वमा प्रत्येक बर्ष १५ करोड ८० लाख पटक निमोनिया हुन्छ जसमा १५ करोड ४० लाख त केश विकासशील देशहरूमा हुने गरेकोे तथ्यांक छ । विकसित मुलुकहरूमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुना बढी रहन्छ । प्रत्येक बर्ष पाँच बर्ष भन्दा मुनिका १२ लाख बाल बलिकाहरू निमोनियाको कारण मृत्युको मुखमा पुग्ने गरेका छन् ।
कसरी लाग्छ निमोनिया ?
निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरू जस्तै विभिन्न ब्याक्टेरियाहरू भाइरसहरू वा फंगसहरूले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरूले गर्दा यी विभिन्न किटाणुहरूको संक्रमणले प्रभाव पार्दछ । जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ता को उमेर देखि ४ बर्षको उमेरसम्मका बालबालिकाहरूमा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीयाको संक्रमण बढी हुन्छ ।
त्यस्तै पाँच बर्षभन्दा पछिको बालबालिकाहरूमा माइकोप्लास्मा निमोनिया र क्लामाइडिया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यीबाहेक अरु स्वस्थ्य बच्चाहरूमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकसले निमोनिया गराउदछन् । एचआईभी एड्स भएका बच्चाहरूमा टिवि वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, ई कोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउदछन् । हेमोफिलसको खोप नियमित खोपमा समाबेश भए पछि यसबाट हुने संक्रमणमा ज्यादै कमि आएको छ ।
लक्षणहरू
भाइरस वा ब्याक्टेरियाले हुने निमोनिया हुनुभन्दा केही समय अगाडिदेखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छ । मुख्यत रुघा खोकी ज्वोरो आउने सास फेर्न गारो हुने छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरू रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन् । सामान्यतया ब्याक्टेरियाले गर्दा हुने निमोनिया मा भाइरसले गराउने निमोनियामा भन्दा बढी ज्वोरो आउने वा काम ज्वोरो आउने तथा खोकी र सास फेर्न गाह्रो हुने वा छाति दुख्ने बढी हुन्छ । कहिलेकाहीँ पेट मात्र दुखेर पनि बच्चाहरू अस्पताल पुग्छन ।निमोनिया भएका बिरामीहरूलाई डाक्टरले जाँच्दा छातीमा विभिन्न प्रकारका आवाजहरू सुन्न सक्छन जसले गर्दा निमोनिया पत्ता लगाउन सजिलो हुन्छ । आवश्यक ठानेमा एक्सरे वा अन्य टेस्टहरू गर्न पर्न सक्छ ।
जटिलताहरू
बेलैमा राम्रो उपचार पाउन सकिएन वा रोग पत्ता लागेन भने यस्ता बिरामीको फोक्सोमा पिप पर्न वा अब्सेस हुनसक्छ । छातीमा पिप जम्मा भएर इम्पईमा भन्ने अवस्था हुन सक्छ भने कैलेकाहीँ हावा चुहेर निमोथोरक्स हुन सक्छ । मुटु फेल हुने वा संक्रमण अरु अंगहरूमा फैलिन सक्छ । साथै रगतमा संक्रमण फैलदा ज्यान सम्म जाने जोखिम रहन्छ ।
उपचार
बच्चाको उमेर वा अन्य अवस्था र लक्षण अनुसार विभिन्न एन्टीबायोटिक्सहरू मुखबाट खाएर वा सुईको मध्यमद्वारा दिएर निमोनियाको उपचार गर्न सकिन्छ ।
रोकथाम
बालबालिकाहरूलाई आमाको दूध राम्ररी खुवाएर उनीहरूको रोगसंग लडने क्षमताको राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाईले पनि रोग लाग्नबाट बचाउछ । बायु प्रदूषण बिशेष गरि घर भित्रको बायु प्रदुषण धुुम्रपान नगरेर पनि निमोनियाबाट बचाउन सकिन्छ । खोपहरू जस्तै नियमित वा सरकारले निशुल्क उपलब्ध गराएका खोपहरू पूर्ण रूपले लगाउने गर्नाले पनि विभिन्न संक्रमणबाट बचाउन सकिन्छ । गतबर्ष देखि नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनिया बिरुद्धको खोप पिसिभि १० सुरु गरिसकेको छ । अन्य खोपहरू जस्तै फ्लु बिरुद्धका खोपहरू जसलाई किन्नुपर्छ लगाउन सकिन्छ । अबस्थ्या अनुसार बचाबटका लागि एन्टीबयोटिक्स जस्तै एचआइभी भएको अवस्थामा दिईने एन्टीवायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ ।

प्रतिक्रियाहरु