मुशर्रफले पाकिस्तान छोडे

२०७२ चैत्र ५ गते, शुक्रबार

काठमाडौ, ५ चैत । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफ विदेशिएका छन् । विदेश भ्रमणमा उनीमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएलगत्तै उनी दुबई प्रस्थान गरेका हुन् । केही दिनअघि पाकिस्तानको सर्वोच्च अदालतले मुशर्रफको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आदेश दिएको थियो । सोही आदेश लगत्तै मुशर्रफले देश छोडेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । मुशर्रफका वकिलले अदालतमा स्वास्थ्योपचारका लागि मुशर्रफ विदेश जानुपर्ने भएको जिकिर गरेका थिए । मेरुदण्डको हड्डीको शल्यक्रिया तत्काल गर्न जरुरी रहेको भन्दै उनले त्यस्तो शल्यक्रिया पाकिस्तानमा सम्भव नहुने जनाएका थिए । देश छोड्नु अघि मुशर्रफले केही पत्रकारसँग कुरा गर्दै आफू चाँडै फर्केर आउने बताएका छन् । उनले आफूविरुद्ध अदालतमा विचाराधीन सबै मुद्दाको सामना गर्ने पनि बताए । उनले भने, ‘म एक कमाण्डो पनि हुँ, मलाई आफ्नो मुलुकप्रति प्रेम छ, म केही साता वा महिनापछि फर्केर आउँछु ।’ उनीविरुद्ध दायर गरिएको राजद्रोह र अन्य केही मुद्दामा सुनुवाई हुन बाँकी नै छ । – एजेन्सी

प्रतिक्रियाहरु