जेलमा चिसो कफी दिएपछि

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौं, ३ चैत । नर्वेको एक अदालतमा ७७ जनाको हत्याका दोषीका गुनासो उपर सुनुवाई हुँदैछ । दक्षिणपन्थी विचारधाराका आन्द्रे बेहरिक ब्रिभिकलाई अदालतले ७७ जनाको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय तोकिसकेको छ । तर उनले जेलमा आफूलाई सुविधा नदिइएको आरोप लगाउँदै सरकारविरुद्ध उजुरी गरेपछि उनका गुनासोमाथि अदालतमा सुनुवाइ भइरहेको हो । अदालतमा उपस्थित हुँदा ब्रिभिकले नाजी शैलीमा अभिवादन गरेका थिए । उनले युरोपियन कन्भेन्शन अन ह्युमन राइट्सविरुद्ध सरकारले आफूलाई जेलमा एक्लै राख्ने गरेको आरोप लगाएका छन् । यस्तो कार्य अमानवीय रहेको उनको दाबी छ । यतिमात्र होइन, उनले आफूलाई जेलमा चिसो कफी दिइने गरेको आरोप पनि लगाएका छन् । खाजामा पाउरोटीका साथ ‘बटर’ थोरै हुने गरेको उनको गुनासो छ । आफूलाई कम्प्यूटर प्रयोग गर्न अनुमति दिइए पनि इन्टरनेट सुविधा नदिइएको र जेलको कोठामा झ्यालसमेत नभएको उनको गुनासो छ ।
उनले आफूलाई जेल कोठाबाट बाहिर एक घण्टामात्र समय बिताउन दिने गरिएको आरोप पनि लगाएका छन् । २१ वर्षको जेल सजाय भोगिरहेका उनले जेलमा भोग्नु परिरहेका यस्ता घटनाका कारण आफ्नो पढाईमा समेत बाधा पुगेको बताएका छन् । उल्लेखनीय छ, सन् २०११ मा उनले ७७ जनाको हत्या गरेका थिए । सोही मुद्दामा उनलाई अदालतले जेल सजाय तोकेको हो । – एजेन्सी

प्रतिक्रियाहरु