रुसी सेनालाई सिरियाबाट फिर्ता हुन आदेश

२०७२ चैत्र २ गते, मंगलवार

काठमाडौ, २ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सिरियाबाट फिर्ता हुने आदेश दिएका छन् । पुटिनको यस्तो घोषणाले विश्व समुदायलाई आश्चर्यचकित बनाएको छ । उनले सिरियामा रुसी सैनिक परिचालनको उद्देश्य पूरा भएको भन्दै फिर्ता हुन आदेश दिएका हुन् । सिरियामा पाँच वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने विषयमा शान्ति वार्ता चलिरहेका बेला रुसको यस्तो कदम बाहिर आएको हो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी समेत गरेका छन् । दुवै नेताबीच युद्धविरामलाई अघि बढाउने विाषयमा कुराकानी भएको बताइएको छ ।
रुस सिरियाली राष्ट्रपति बसर अल असादको एक प्रमुख समर्थक हो । असदको कार्यलयले पनि रुसको यो कदमको स्वागत गरेको छ । अब सिरियामा रुसको एक हवाई अड्डा र एक नौसैनिक सञ्चालन केन्द्र रहनेछ । अघिल्लो वर्षको सेप्टेम्बर महिनादेखि रुसले सिरियामा हवाई हमला सुरु गरेको थियो । यसले सिरियाली सरकारलाई केही क्षेत्रबाट विद्रोहीलाई धपाउन सहयोग पुगेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु