तलबको सट्टामा महिलालाई बलात्कार गर्न पाउने !

२०७२ फाल्गुन २९ गते, शनिबार

काठमाडौं, फागुन २९ । दक्षिणी सूडानमा अत्यन्तै अमानवीय हर्कतहरु हुने गरेको खबर सार्वजनिक भएको छ । दक्षिण सूडानको सेनासँग आवद्ध लडाकूलाई तिनको तलबको सट्टामा महिलाको बलात्कार गर्न पाउने अनुमति दिइएको प्रतिवेदन संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको हो । दक्षिणी सूडानको यूनिटी नामक राज्यमा गत वर्ष १३ सय महिलाको बलात्कार गरिएको थियो । सेनाले आम मानिसको हत्या र बलात्कार गर्ने गरेको भन्दै राष्ट्रसंघले यो युद्ध अपराधसरह भएको जनाएको छ ।
सूडान सरकारले भने आरोप अस्वीकार त गरेको छ तर यसबारेमा अनुसन्धान भइरहेको पनि प्रष्ट्याएको छ । राष्ट्रपति सल्भा कीरका प्रवक्ता एटेनी वे एटेनीले आफूहरुले नियमानुसार काम गरिरहेको जिकीर गरेका छन् ।
लडाकूहरुलाई जे सक्छौं गर, जे लैजान्छौं लैजाउ भन्ने आदेश भएकाले उनीहरुले आफ्ना तलबको सट्टामा महिला र बालिकालाई साथै लैजाने र बलात्कार गर्ने गरेको दावी राष्ट्रसंघको छ । उनीहरुले आम जनताको निजी सम्पत्ति पनि लूट्ने गरेका छन् । राष्ट्रसंघीय मानवअधिकार आयुक्त जैद राद अल हुसैनले दक्षिणी सूडानमा हुने गरेको यौन हिंसा संसारकै सबैभन्दा ठूलो मानवअधिकार हननमा पर्ने उल्लेख गरेका छन् ।
एक महिलाले आफ्नै आँखा सामुन्ने आफ्ना पतिको हत्या गरिएको र आफ्नी १५ वर्षीया छोरीको १० जना सैनिकले सामूहिक बलात्कार गरेको बताएकी छिन् ।
सन् २०१३ मा राष्ट्रपति कीरले उपराष्ट्रपति रीक माशरलाई पदबाट हटाएपछि कीरको सत्ता पल्टाउने प्रयास भएलगत्तै दक्षिणी सूडानमा गृहयुद्ध सुरु भएको थियो । दुबैले आफ्ना वफादार सेना बनाएर थालेको गृहयुद्धमा दशौं हजार मानिस मारिइएका छन् भने बीस लाखभन्दा बढी मानिस बेघर भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु