अमेरिकाकी पूर्व प्रथम महिला रेगनको निधन

२०७२ फाल्गुन २४ गते, सोमबार

काठमाण्डौ ,२४ फागुन । अमेरिकामा पूर्व राष्ट्रपति रोनाल्ड रेगनकी श्रीमती नान्सी रेगनको निधन भएको छ । पूर्व अमेरिकी फस्ट लेडी (प्रथम महिला) नान्सी रेगनको क्यालिफोर्नियामा रहेको आफ्नै निवासमा निधन भएको हो । अमेरिकाकी पूर्व प्रथम महिला रेगनको ९४ वर्षको उमेरमा निधन भएको हो । पूर्व राष्ट्रपति रोनाल्ड रेगनको अभिनयदेखि राष्ट्रपतिसम्मको यात्रामा नान्सीले सल्लाहकार एंव संरक्षकको भूमिका निभाउनुभएको थियो । रेगनलाई अल्जाइमरको समस्या देखिएका बेला उहाँले १० वर्षसम्म श्रीमानको सेवामा जुट्नु भएको थियो । सन् २००४ मा रोनाल्ड रेगनको निधन भएको थियो । प्रथम महिला नान्सीले चलाएको अभियान ‘जस्ट से नो’ (नाई भन्न सक) निकै लोकप्रिय बनेको थियो । यो अभियानले बालबालिका र किशोरकिशोरीलाई लागु औषधमा फस्नबाट जोगाएको बताइन्छ । उहाँले अल्जाइमरको समस्या भएका बिरामीको समर्थनमा पनि काम गर्नु भएको थियो । यो रोगका बारेमा शोध गर्न लाखौँ डलर जुटाउनुभयो । पूर्व राष्ट्रपति रोनाल्ड रेगन र नान्सी रेगनको जोडीलाई निकै उदाहरणका रुपमा हेरिन्छ । सन् १९८१ देखि १९८९ सम्म फस्र्ट लेडीका रुपमा रहेकी नान्सी रेगन अमेरिकी राष्ट्रपति भवनको संरचनामा बढी खर्च गरेकोमा भने बिबादमा तानिनु भएको थियो । उहाँको निधनप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामाले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु