हरियाणाको आन्दोलन हिंसात्मक बन्दै

२०७२ फाल्गुन ८ गते, शनिबार

काठमाडौं, ८ फागुन । भारत हरियाणामा आरक्षणको माग गर्दै भएको जाट आन्दोलन हिंसात्मक हुँदा तीन जना मारिएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तमा २३ जनालाई गोली लागेको छ भने ६१ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हरियाणाको रोहतकमा राज्यका अर्थ मन्त्रीको घरमै आगजनी गरिएको छ भने मारिने तीन जना पनि त्यहींका छन् । परिस्थिति नियन्त्रण गर्न आठ जिल्लामा सेना तैनाथ गरिएको छ । भिवानी जिल्ला पनि बढी प्रभावित भएको छ । शहरका विभिन्न स्थानमा कफ्र्यू लगाइएको छ ।
हिंसा मच्चाउनेलाई देख्ने वित्तिकै गोली हान्ने आदेश सरकारले सुरक्षाकर्मीलाई दिएको छ । उग्र प्रदर्शनबाट सडक र रेल यातायातमा असर परेको छ ।
हरियाणको विभिन्न जिल्लामा एक सातादेखि जारी जाट आन्दोलनका कारण एक सयभन्दा बढी रेल गाडीको सेवा बन्द गरिएको छ ।
प्रभावित क्षेत्रमा विद्यालय र कलेज बन्द गरिएको छ । राज्यका मूख्यमन्त्री मनोहर लाल खट्टरले विधानसभाको आगामी संसद सत्रमा जाट आरक्षणका लागि ठोस कदम लिने आश्वासन दिएपनि आन्दोलनकारी पत्याएका छैनन् । -एजेन्सी

प्रतिक्रियाहरु