शिक्षकमा ६ सय दरबन्दी रिक्त , फागुनभित्रै विज्ञापन गरिने

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौँ, २ फागुन । देशभर ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण प्राप्त भएपछि शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने तयारी गरेको छ । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए । नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास क्षेत्रमा माध्यमिक तहमा मात्र कुल १ सय ९२ शिक्षकको पद रिक्त रहेको शिक्षा विभागका निर्देशक तथा प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार माध्यमिक तहका लागि ६ सय ११ दरबन्दी विवरण शिक्षक सेवा आयोगलाई पठाएको हो । अन्य तहका लागि पनि विभागले विवरण माग गरेको छ । एकैचोटी धेरै तहमा विज्ञापन गर्दा सेवा आयोगको परीक्षा दिने व्यक्तिदेखि व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले पटक–पटक गरेर रिक्त पदपूर्ति गर्दैछ । सुविधा राम्रो भएकाले यो पेशामा युवाको आकर्षण धेरै छ । शिक्षक सेवामा प्रवेश गर्नका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । आयोगका प्रशासकीय प्रमुख पौडेलका अनुसार प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक गरी तीन तहमा सात लाखको हाराहारीमा अध्यापन अनुमति लिएर बसेका युवाहरु छन् ।

प्रतिक्रियाहरु