अमेरिकाद्वारा युरोपको रक्षा बजेटमा चार गुणा वृद्धि

२०७२ माघ २० गते, बुधबार

काठमाडौ, २० माघ । रुसबाट खतरा बढेको भन्दै अमेरिकाले युरोपका लागि आफ्नो रक्षा बजेटमा चार गुणा बृद्धि गरेको छ । अमेरिकी रक्षा मन्त्री एश कार्टरका अनुसार अमेरिकाका लागि रुस सबैभन्दा ठूलो खतरा बनेको छ । रुसको आक्रामकतालाई मध्यनजर गर्दै अमेरिकी रक्षा मन्त्रालयले सन् २०१७ मा युरोपका लागि आफ्नो रक्षा बजेटमा चार गुणा बृद्धि गरेको उनको भनाई छ ।
मार्च २०१४ मा युक्रेन अधिनस्थ क्राइमियालाई रुसले आफ्नो अधिनमा लिएपछि अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको हो ।
अमेरिकी रक्षामन्त्री कार्टरका अनुसार युरोपका लागि बढाइएको रक्षा बजेटले पूर्वी युरोपमा रहेका आफ्ना सैन्य अखडामा सैनिकको संख्या बढाइने छ । यस अतिरिक्त सहयोगी मुलुकसँगको संयुक्त सैन्य अभ्यास र प्रशिक्षणमा सो रकम खर्च गरिने उनले जनाए ।
चालु आर्थिक वर्षमा युरोपका लागि अमेरिकी रक्षा बजेट ७८ करोड ९० लाख डलर रहेको छ । तर आगामी वर्षका लागि अमेरिकाले युरोपका लागि आफ्नो रक्षा बजेट ३.४ अर्ब डलर पुर्‍याएको छ ।
अमेरिकी रक्षामन्त्री कार्टरले भने, ‘रुसको आक्रामकतालाई रोक्नका लागि हामी बलियो र सन्तुलित रवैया अपनाइरहेका छौं, हामीलाई विगत २५ वर्ष यता रुसका बारेमा यस्तो चिन्ता थिएन तर अब चिन्ता गर्नुपर्ने भएको छ ।’ – एजेन्सी

प्रतिक्रियाहरु