सीमा नाकाहरुमा मोर्चाका कार्यकर्ता बस्दै आएको पन्डाल हटाइयो

२०७२ माघ १५ गते, शुक्रबार

काठमाडौं, १५ माघ । पाँच महिनादेखि मधेसी मोर्चाका सयौं नेता तथा कार्यकर्ताद्वारा चौबिसै घन्टा धर्नाका लागि महोत्तरीका विभिन्न सीमानाकामा राखिएको समियाना र पन्डाल हटाइएको छ । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर चौबिसै घन्टा धर्ना बस्दै आएका मोर्चाका नेता तथा कार्यकर्ता अब नाकामा आउन छाडेका छन् भने ती नाकामा बनाइएका सबै समियाना र पन्डालहरु तोडफोड गरी हटाइएको छ ।
महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा पाँच महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्ध महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेको बताइन्छ । उनीहरु बस्ने गरेको समियाना र पन्डाल पनि भत्काइएको छ ।
त्यस्तै, नाकामा व्यवस्था गरिएको निःशुल्क भोजन पनि बन्द भएपछि नाकामा आन्दोलनकारी जान छाडेका छन् भने जिल्लाका सबै नाकाबाट निर्बाध रुपमा सबै प्रकारका सवारी तथा मालवाहक साधन नेपाल–भारत ओहोरदोहोर गर्न थालेका छन् ।
गत असोज ७ गतेदेखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा देखिने आन्दोलनकारीको भीड अहिले छैन ।- रासस

प्रतिक्रियाहरु