वैद्य माओवादीको राष्ट्रिय सम्मेलन असोजमा

२०७२ माघ १४ गते, बिहीबार

काठमाडौं, १४ माघ । नेकपा (क्रान्तिकारी माओवादी )ले आगामी असोज १ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । माघ ३ गतेदेखि १२ गतेसम्म सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो पार्टीले सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र र जनजीविकाका आधारभूत समस्या अत्यन्तै गम्भीर तथा भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । अघोषित आर्थिक नाकावन्दी एवम् सरकारको जिम्मेवारीबोधको अभाव तथा असक्षमताका कारण पेट्रोलियम पदार्थ, ग्यासलगायत उपभोग्य सामग्रीहरूको अभाव भई मानवीय सङ्कट पैदा हुदै आएको ठहर समेत पार्टीले गरेको बताइएको छ ।
पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवस, फागुन १४-२१ सहिद सप्ताह, फागुन २४ गते ऐतिहासिक जनआन्दोलन दिवसलगायतका दिवस मनाउने तथा कार्यक्रम सञ्चालन गर्ने ठेगान भएको समेत जनाएको छ । अध्यक्ष मोहन बैद्यद्वारा जारी विज्ञप्तिमा गत माघ ७ गते मोरङको रङ्गेली बजारमा आयोजित कार्यक्रमबारे एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच चल्दै गएको विवादका क्रममा जनविरोधी सरकारद्वारा लाठी चार्ज गरी तथा गोली हानी तीन जना निर्दोष नागरिक ऽौपदीदेवी चौधरी, महादेव ऋषिदेव र शिवु माझीको बर्बरतापूर्वक हत्या गरिएको र कैयौंलाई निर्मम रूपमा घाइते बनाइएको भन्दै सोको निन्दा एवं गम्भीर भत्र्सना तथा विरोध गरेको बताइएको छ । साथै, पार्टी मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको क्षतिपूर्ति र घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्थाका लागि जोडदार माग गरिएको छ । जाडो याममा भूकम्पपीडितहरूको समुचित व्यवस्थापन र पुनर्निर्माणको काममा अत्यन्तै उदासीन, गैरजिम्मेवार बनेको सरकारको विरोध गर्दै व्यवस्थापन र पुनर्निर्माणका कामलाई छिटै र योजनाबद्ध रूपमा अगाडि बढाउन समेत सो पार्टीले जोडदार माग गरेको छ ।
पार्टी सचिवालयको बैठकपछि नेकपा (क्रान्तिकारी माओवादी )का अध्यक्ष मोहन वैद्य ‘किरण’ले जारी गरेको प्रेस बक्तब्यको पूर्ण बिबरण यस प्रकार रहेको छ :- ‘२०७२ माघ ३ देखि १२ गतेसम्म अध्यक्ष क. किरणको अध्यक्षतामा नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सचिवालयको बैठक सम्पन्न भयो । बैठकमा लिइएका कतिपय आवश्यक तथा महत्वपूर्ण निर्णयहरूबारे यस प्रेसवक्तव्यमार्फत निम्नानुसार सार्वजनिक रूपमा जानकारी गराइएको छ ।
१ . बैठकको प्रारम्भमा महान् जनयुद्धसहित समग्र आन्दोलन तथा क्रान्तिका वीर अमर सहिदहरूप्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२ . अध्यक्ष क. किरणद्वारा बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको अवस्थाबारे सङ् क्षिप्तमा मौखिक रिपोर्ट प्रस्तुत गरियो ।
३ . विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, कम्युनिस्ट आन्दोलन र देशको सामाजिक तथा आर्थिक अवस्थाको गम्भीर तथा ठोस अध्ययन गरी नयाँ संश्लेषण गर्ने र पार्टीका नीति, कार्यक्रम तथा कार्यदिशालाई समृद्ध तथा परिमार्जित तुल्याउने उद्देश्यमा आधारित रही २०७३ साल आश्विन १ गते पार्टीको राष्ट्रिय सम्मेलन आह्वान गर्ने मिति निर्धारित गरियो ।
४ . सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई निरन्तरता दिने ठेगान भयो ।
५ . राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र र जनजीविकाका आधारभूत समस्या अत्यन्तै गम्भीर तथा भयावह बन्दै गएको, अघोषित आर्थिक नाकावन्दी एवम् सरकारको जिम्मेवारीबोधको अभाव तथा असक्षमताका कारण पेट्रोलियम पदार्थ, ग्यास लगायत उपभोग्य सामग्रीहरूको अभाव भई मानवीय सङ् कट पैदा हुँदै आएको र साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप तीव्र बन्दै गएको अहिलेको स्थितिमा माघदेखि चैत्रसम्म राष्ट्रिय जनजागरण तथा सङ् गठन विस्तार — सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय लिइएको छ । यसै क्रममा फागुन १ गते जनयुद्ध दिवस, फागुन १४–२१ सहिद सप्ताह, फागुन २४ गते ऐतिहासिक जनआन्दोलन दिवस लगायतका दिवस मनाउने तथा कार्यक्रम सञ्चालन गर्ने ठेगानसमेत भएको छ ।
६ . यही माघ ७ गते मोरङको रङ्गेली बजारमा आयोजित कार्यक्रमबारे एमाले र मधेसी मोर्चाका कार्यकर्ताबिच चल्दै गएको विवादका क्रममा जनविरोधी सरकारद्वारा लाठी चार्ज गरी तथा गोली हानी तीन जना निर्दोष नागरिक द्रौपदीदेवी चौधरी, महादेव ऋषिदेव र शिवु माझीको बर्बरतापूर्वक हत्या गरिएको र कैयौंलाई निर्मम रूपमा घाइते बनाइएकोमा त्यसप्रकारको निन्दनीय कार्यप्रति पार्टी सरकारको गम्भीर भत्र्सना तथा विरोध गर्दछ । साथै, पार्टी मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको क्षतिपूर्ति र घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्थाका लागि जोडदार माग गर्दछ ।
७ . जाडो याममा भूकम्पपीडितहरूको समुचित व्यवस्थापन र पुनर्निर्माणको काममा अत्यन्तै उदासीन र गैरजिम्मेवार बनेको सरकारको विरोध गर्दै व्यवस्थापन र पुनर्निर्माणका कामलाई छिटै र योजनाबद्ध रूपमा अगाडि बढाउन पार्टी जोडदार माग गर्दछ ।’

प्रतिक्रियाहरु