अनुमति बिना भारत प्रवेश गर्न नपाइने

२०७२ माघ १२ गते, मंगलवार

काठमाडौ, १२ माघ । भारतीय भन्सार कार्यालयले सुरक्षाको कारण देखाउँदै नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर कमलेश कुमारले जानकारी दिए । उनले रक्सौलसहित नेपाल–भारतका २३ व्यापारिक नाकामा यो नियम लागू गरिएको बताए । विहारको पटना सीमा शुल्क विभागले गत पुस १४ गते जारी गरेको सार्वजनिक सूचना अनुसार आजदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल भन्सारले जनाएको छ ।
नेपाली नम्वरका सवारी साधन विहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रवेश गर्न पाउने जनाइएको छ । सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यवस्थित पार्नका लागि अस्थायी पासको नियम लागू गरिएको रक्सौल भन्सारका सूचना अधिकृत अभिषेक कमलले जानकारी दिए ।

प्रतिक्रियाहरु