मोर्चाद्वारा आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक

२०७२ माघ ११ गते, सोमबार

काठमाडौ, ११ माघ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले माघ १८ गतेसम्मका लागि आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले रंगेली घटनाको कडा विरोध गरेको छ । संविधान संशोधनको भाषाले मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न पर्याप्त नभएको भन्दै मोर्चाले यो संशोधनको पनि विरोध गरेको छ । साथै जारी मधेस आन्दोलनमा सहभागी हुन तराईका अन्य राजनीति पार्टी र संगठनहरुलाई अपिल गर्ने पनि निर्णय बैठकले गरेको सद्भावना महासचिव मनिषकुमार सुमनले बताए ।
तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बसेको बैठकपछि मोर्चाले जारी गरेको प्रेस बक्तब्य यस पर्कार रहेको छ –
‘१. मोरङ्ग रंगेली र डायनियाँमा शान्तिपूर्ण प्रदर्शनमाथि सत्तारुढ पार्टी नेकपा एमालेको भातृसंगठन युवासंघको हिंसक प्रहार र सरकारको नृशंस जनसंहार मधेश आन्दोलनले उठाएका न्यायपूर्ण मुद्दाहरुको वार्ता र संवादवाट राजनीतिक समाधानको प्रयासलाई भाडन र सो कुत्सित उद्देश्य पूर्ति गर्न देशलाई साम्प्रदायिकताको आगोमा झोक्ने षडयन्त्र रहेको हाम्रो ठहर हो । यसले हामीलाई चिन्तित बनाएको छ । आफ्नो अहं र स्वार्थका निमित्त सत्तापक्षमा देखिएको तानाशाही प्रवृतिले जे पनि गर्न सक्दछ भन्ने कटु यथार्थप्रति सम्पूर्ण जागरुक समाज सजग रहनु पर्ने आजको आवश्यक्ता रहेको छ । राज्यको शक्तिलाई जनता विरुद्ध जथाभावी दुरुपयोगको प्रवृति निरन्तर बढदै गईरहेको रंगेली र डायनियाँ लगायतमा भएको त्रूmर दमन र नृशंसताले प्रस्टयाएको छ । बढदो दण्डहीनताले तानाशाही मानसिकता र प्रवृति बढदै जाने तथा राज्यशक्तिको दुरुपयोग बढने हुँदा यस्ता घटनाहरुको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई दण्डित गर्नु गराउनु पर्दछ । आजको यो बैठक रंगेली डायनियाँ लगायत विभिन्न ठाँउमा भएका यस्ता दमन र नृशंसताको घोर भत्सर्ना गर्दै यी सबै घटनाहरुको निष्पक्ष छानबीन र दोषीमाथि कारवाही गर्न यथाशिघ्र उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्न जोडदार माँग गर्दछ ।
२. सं.लो.म.मोर्चा प्रारम्भदेखिनै हाम्रा सबै न्यायोचित माँगहरुको एकमुष्ट राजनीतिक समाधान गरी तदनुसार संविधानको एकमुष्ट संशोधन गर्नु पर्ने धारणा स्पष्ट गर्दै आएको छ । जर्बजस्ती संविधान लादिएकै शैलीमा एकतर्फी रुपमा संविधानमा गरिएको संशोधनले हाम्रा मुद्दाहरुको सम्बोधन नगरेको हुँदा मान्य हुन सक्दैन । हाम्रा मुद्दाहरुको राजनितीक सम्बोधन नभएसम्म संघर्ष हाम्रो बाध्यता भएको हुनाले यी सबै मुद्दाहरुको एकमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने स्पष्ट गर्दछौ. ।
३. नेपालको संविधान २०७२ प्रति विमति राख्दै मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम, पिछडावर्गको माँग सम्बोधनका लागी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अगाडि सारेको ११ सूत्रिय माँगको समर्थनमा आन्दोलनरत सबै पक्षलाई एकबद्ध भई साझा आन्दोलन गर्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ ।
४. आन्दोलनका आगामी कार्यक्रमहरु–ः
क) २०७२ माघ १३ गते बुधवार –शहीदको सम्मानमा सदरमुकामहरुमा सार्वजनिक स्थलमा मोमवत्ती प्रज्ज्वलन ।
ख) २०७२ माघ १६ गते शनिवार –जनतालाई आन्दोलन र विकसित परिस्थितिवारे जानकारी गराउन क्षेत्रीय स्तरका सभाहरु गर्ने ।
ग) २०७२ माघ १८ गते सोमवार –सदरमुकाममा राजनीतिककर्मी, बुद्धिजीवी, कर्मचारी, पेशागतकर्मी, मजदुर, व्यापारी लगायत समाजका सबै वर्ग सम्मलित अन्तरक्रिया कार्यक्रम आयोजित गरी आन्दोलन र विकसित परिस्थिति वारे जानकारी दिने ।
५. आन्दोलनका अगामी कार्यक्रम पछि सार्वजनिक गरिने छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु