ताप्लेजुङमा विद्युत आपूर्ति बन्द

२०७२ माघ ६ गते, बुधबार

काठमाडौं, ६ माघ । ताप्लेजुङको हाङ्पाङ गाविसमा रहेको सोबुवाखोला साना जलविद्युत आयोजनाको कुलो मर्मत गर्ने भन्दै हिजोदेखि विद्युत आपुर्ती रोके सदरमुकाम फुङ्लिङमा विद्युत आपुर्ती ठप्प भएको छ । विद्युत आपूर्ति रोकिएपछि सदरमुकाम फुङ्लिङबजार सहित आसपासका क्षेत्र हाङ्पाङ, चाँगे र ढुङ्गेसाँघु गाविस अन्धकार भएका छन । ताप्लेजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष रणबहादुर कार्कीका अनुसार कुलो मर्मतको समयमा विद्युत आपुर्ति बन्द गर्नु पर्ने भएकाले सो अवधिभर चिमाल ग्रामिण विद्युत सहकारी संस्थाले उत्पादन गरेको विद्युत दैनिक दुई घण्टा दिने भनिए पनि भार थाम्न नसकेकाले सदरमुकाममा पुर्ण रुपमा विद्युत आपुर्ती रोकिएको हो । विभिन्न समयमा पहिरोले आयोजनाको कुलो भत्काएकाले ३ सय २० मिटर भागमा पाईप लगाउनुपर्ने र बाँकीस्थान मर्मत गर्नुपर्ने भएकाले मर्मत गर्न एक हप्ता सम्म लाग्ने अध्यक्ष कार्किले बताए ।
यसैबीच, हिजो दिउँसो परेको वर्षासँगै ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । त्यहा दुई फिटसम्म हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा दुई फिटसम्म हिमपात भएको छ भने हिउँ माथिल्लो फेदि सम्म बाक्लो हिउँ झरेको स्थानीयको भनाई छ । माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भए सँगै चिसो पनि हृवातै बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु