सूचना आयोगद्वारा प्रधानमन्त्री समक्ष विवरण पेश

२०७२ माघ ४ गते, सोमबार

काठमाडौं, ४ माघ । राष्ट्रिय सूचना आयोगले एक वर्षको अवधिमा गरेका कामको विवरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर गत वर्षको माघ १ गतेदेखि यो वर्षको पुस मसान्तसम्म गरेका कामको विवरण प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई दुईओटा पुस्तिकामार्फत् कामको विवरण बुझाउनेक्रममा एक वर्षको अवधि निकै उत्पादनशील रहेको दाबी गरेका छन् ।
प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले लोकसेवा आयोगलाई प्रतिस्पर्धी परीक्षार्थीको प्राप्तांक सार्वजनिक गर्न आदेश दिइएको, पञ्चेश्वर जलविद्युत् आयोजनालाई उसको विधान र लगानी बोर्डलाई माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पीडिए उपलब्ध गराउन आदेश दिइएको बताए ।
उनले यस अवधिमा सबै मन्त्रालय र केन्द्रीयस्तरका निकायका सचिवहरुलाई सूचना अधिकारी तोक्न, तीन/तीन महिनामा कामको विवरण सार्वजनिक गर्न, सूचना माग गर्नेको अभिलेख राख्न तथा सरकारी तालिम केन्द्रहरुलाई सूचनाको हकलाई तालिमको पाठ्यक्रमकारुपमा अनिवार्यरुपमा समावेश गर्न आदेश दिइएको बताए ।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोगले सबै मन्त्रालयहरुको परीक्षण गर्न लागेको जानकारीसमेत दिए । उनले ऐन कार्यान्वयनमा कुन मन्त्रालय अगाडि छ र कुन मन्त्रालय पछाडि छ भन्ने पत्ता लगाउन आयोगले २० ओटा सूचकांक तयार पारिसकेको भन्दै अब छिट्टै परीक्षण गरेर नतिजा सार्वजनिक गरिने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु