मधेसका मुद्दा सम्बोधन गर्न एमाले बाधक : कोइराला

२०७२ पुष २५ गते, शनिबार

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मधेसका मुद्दा सम्बोधन गर्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् । लिला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति कोइरालाले मधेसका मुद्दाका विषयमा सबै पार्टीले समान धारणा बनाउनुपर्ने बताए । उनले मधेसी दलका जायज माग पूरा गर्न ढिलाइ गर्न नहुने भएपनि यसमा सरकार तयार नभएको आरोप लगाए । कांग्रेस सभापति कोइरालाले वार्ता र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले मुलुकका समस्या झन् जटिल बन्दै गएको भन्दै मधेसी दललाई भित्तामा पुर्‍याउने सोचले समस्या समाधान नहुने स्पस्ट पारे । हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नेपाली समान हुने भएकाले कांग्रेसले सबैलाई समान व्यवहार गर्ने उनको भनाइ थियो ।
सभापति कोइरालाले राष्ट्रियता, स्वाधिनता र लोकतन्त्रमा आँच नआउने गरी समस्या समाधान गर्न सकिने बताए । सभापति कोइरालाले नेपालमा जारी भएको संविधान पूर्ण लोकतान्त्रिक भएकाले सबै मिलेर कार्यान्वयन गर्नुको विकल्प नभएको स्पस्ट पारे । लिला–यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहालले सम्पादन गरेको पुस्तकमा लोकतान्त्रिक आन्दोलनको याथार्थता र नेपाली कांग्रेसको मौलिक पहिचान, राष्ट्रिय योगदानलगायतका विषय समेटिएका छन् ।

प्रतिक्रियाहरु