हलिया मुक्तिको घोषणा नारामामात्र सीमित

२०७२ पुष २५ गते, शनिबार

काठमाडौँ । सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गरे पनि अहिलेसम्म उनीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारले हलिया मुक्तिको घोषणा गरेअनुसार पुनस्र्थापना प्रक्रिया अगाडि बढाए पनि वास्तविक हलियाले अझै परिचयपत्र पाउन सकेका छैनन् । पुनस्र्थापना नहुँदा थुप्रै हलिया फेरि हलिया बस्न बाध्य भएका छन् । सरकारी लगतमा थुपै्र हलियाले फाराम भरेको भएपनि नाम छुटेको मुक्त हलियाको भनाइ छ । राष्ट्रिय दलित समाज तथा कल्याण सङ्घका अनुसार अहिलेपनि दार्चुलाका ४० परिवार हलिया बसेर काम गरिरहेका छन् । हलिया अधिकारकर्मी चक्र विकेले गरेको एक अध्ययनअनुसार अझै पनि डडेल्धुराका ११६ परिवारको नाम लगतमा छैन । त्यसैगरी अध्ययनअनुसार ७० प्रतिशत हलियासँग अलिकति पनि आफ्नो जग्गा छैन । अधिकारकर्मी विकेले भन्छन्– ‘यी प्रतिनिधि घटना मात्र हुन् । यस्तो समस्या धेरै जिल्लामा छन् । छुटेका मुक्त हलियाको तथ्याङ्क लिनुपर्छ भन्दा सरकारी अधिकारीहरू कुरै सुन्न चाहँदैन । त्यसैले हलियाको पुनस्र्थापना भद्रगोल भएको छ ।’
सरकारले वितरण गरेको परिचयपत्रको वर्गीकरणमा समस्या भएकाले थुप्रै हलियाहरु अधिकारबाट वञ्चित बन्नुपरेको उनको भनाइ छ । “सरकारले मुक्त हलियाका लागि घर निर्माण गर्न जमिन उपलब्ध गराउने र वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएपनि औसतमा छदेखि सात जनाको परिवार एउटै कोठामा जीवनयापन गर्दै आएका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘वर्षातमा पानी चुहिने, भत्किने डर छ । भीर पाखामा उनीहरूको बसोबास रहेको छ । यतिसम्म कि घर वरपर रहेको सामुदायिक जङ्गलबाट समेत आफ्नो दैनिकी चलाउन प्रयोग गरिने घास दाउरा उपभोग गर्नबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।’ नेपालको असमान भूमि वितरण प्रणाली, अर्धसामन्ती र अर्धदासताको जगमै हलिया प्रथा कायम भएको मान्न सकिन्छ । अहिलेपनि कुनै हलिया स्थापित भएका छन् भने कुनै हलियाले ऋणसमेत पाउन नसकेको अवस्था छ । खासगरी आर्थिक अवस्था कमजोर हुनु, भूमिहीन हुनु, रूढीवादी संस्कार, जातीय विभेद र बेरोजगारीलगायत समस्याले हलिया बस्नुपर्ने बाध्यता रहँदै आएको छ । विसं २०७२ को तथ्याङ्कअनुसार डडेल्धुरा, दार्चुला, कञ्चनपुर, बैतडी, बझाङ, बाजुरा र अछामलगायत जिल्लामा गरी जम्मा १९ हजार ५९ घरधुरी हलिया रहेकामा आठ हजार ९८३ जना परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको छ ।
मुक्त हलिया सङ्गठित हुनु, उनीहरूको सशक्तीकरण हुनु, सरकारबाट तथ्याङ्क सङ्कलन हुनु, परिचयपत्र वितरण हुनु, मुक्त हलियाका तीनवर्षे कार्ययोजना र कार्यविधि, २०६८ तयार हुनु यो समुदायका लागि सकारात्मक भएपनि हलियाहरु आर्थिक रुपमा सक्षम र सामान्य साक्षर समेत हुन् सकिरहेका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु