भूकम्पपछि रोकिएको सम्पदा निर्माण सुरु

२०७२ पुष २४ गते, शुक्रबार

काठमाडौं , २४ पुस । गत वैशाख १२ गतेको भूकम्पपछि रोकिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रका सम्पदा जीर्णोद्धार सुरु भएको छ ।
पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले यहाँको बद्रीनारायण मन्दिर, दुईमाजूको मन्दिर, बालाखु गणेश पाटी, रामेश्वर मन्दिर र तलेजु मन्दिरको जीर्णोद्धार सुरु गरेको हो । भूकम्पका कारण काम सम्पन्न गर्न नसकेपछि आव २०७१÷७२ मा जीर्णोद्धारका लागि आएको बजेट ‘फ्रिज’ भएको थियो ।
बजेट फ्रिज भए पनि चालु आव २०७२÷७३ को असोजसम्ममा काम सम्पन्न गर्ने गरी म्याद थप भएपछि पुनः जीर्णोद्धार सुरु भएको कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । चालु आवमा जीर्णोद्धार गर्न बद्रीनारायण मन्दिरका लागि रु २८ लाख, दुईमाजूको मन्दिरको लागि रु १३ लाख, बालाखु गणेश पाटीका लागि रु १४ लाख र रामेश्वर मन्दिरका लागि रु १० लाख र तलेजु मन्दिरका लागि रु १० लाख बजेट आएपछि पुनः जीर्णोद्धारको काम सुरु भएको उहाँले बताउनुभयो ।
जीर्णोद्धार सम्पन्न गर्न बद्रीनारायण मन्दिरका लागि रु १० लाख, दुईमाजूको मन्दिरका लागि रु १५ लाख र रामेश्वर मन्दिरका लागि रु पाँच लाख थप रकम लाग्ने भएकाले उक्त रकम माग गरेर माथिल्लो निकायमा पठाएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकासँगको साझेदारीमा जीर्णोद्धार भइरहेको तलेजु मन्दिरको भने हरेक वर्ष रकम थपिँदै जाने गरेको छ ।
भूकम्पले भत्काएको सम्पदामध्ये दरबार स्क्वायरको तब सत्तल र सिलु महादेव अर्थात् फसिदेगको परम्परागत शैलीमा पुनः निर्माणका लागि कार्यालयले सरकारसँग बजेट माग गरेको छ ।
इन्जिनियर श्रेष्ठका अनुसार तब सत्तल पुनः निर्माणका लागि रु चार करोड ७५ लाख र सिलु महादेव पुनः निर्माणका लागि रु पाँच करोड ५० लाखको बजेट विभागमार्फत सरकारसँग माग गरेको छ । समयमै बजेट स्वीकृत भएर निकासा भए तब सत्तल दुई वर्षमा र सिलु महादेव तीन वर्षमा निर्माण सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु